भारतबाट पशुपंक्षी आयात गर्दा वर्ड फ्लुको जोखिम बढ्यो


भारतबाट पशुपंक्षी आयात गर्दा वर्ड फ्लुको जोखिम बढ्यो

नेपालगन्ज ३ फागुन : भारतबाट पशुपंक्षीको अवैध आयातले वर्ड फ्लु लगायतको रोगको जोखिम बढेको बाँकेका सरोकारवालाले बताएकाछन् । अबैधरुपमा भारतबाट आयात गरिएका पशुपंक्षीमा वर्ड फ्लु लगायतका प्राणघातक रोग पनि आयात हुने भन्दै यसलाई रोक्न उनीहरुले सुझाव समेत दिएकाछन् ।

मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले यसलाई रोक्न सरोकारवाला सबै सम्वेदनशील हुनुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा मङ्गलबार आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासँगको अन्तक्रियामा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताएका हुन् ।

पशुपंक्षीको अवैध आयात नियन्त्रणमा सुरक्षा निकायसंगै, व्यवसायी, उपोभोक्ता लगायत सबै सरोकारवालाहरुले भूमीका खेल्नुपर्ने उनले जोड दिए । सरकारले प्रतिवन्धित गरेका पशुपंक्षि सीमाक्षेत्रबाट अवैध रुपमा भित्रिदा विभिन्न संक्रामक रोगहरु फैलन सम्भावना हुन्छ । जसकारण यस क्षेत्रमा स्वास्थ्य सुरक्षा चुनौती बढ्ने भएकाले एक अर्कालाई आरोप लगाउने प्रवृतिको अन्त्य गर्दै सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनको भनाई थियो ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सीमानाकाबाट हुने पशुपंक्षि अबैध आयात नियन्त्रणका लागि प्रयासरत रहेको बताए । सीमाक्षेत्रमा सुरक्षाकर्मीहरु नै अवैध आयातमा संलग्न हुने गरेको आरोप खेपिरहेको बताउँदै उनले यसप्रति निगरानी गरीरहेको र कुनैपनि सुरक्षाकर्मी संलग्न भेटिएमा कारबाही गरिने प्रतिबद्धता ब्यक्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्लाका सुरक्षाकर्मी, भन्सार कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवाला सहभागी कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा. विनय कुमार कर्ण र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा. भक्त निउरेले सीमाक्षेत्रबाट पशुपंक्षि आयात निर्यातका विषयमा बनेका ऐन, कानून र तीनको कार्यान्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा. विनय कुमार कर्णले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ कार्यान्वयनको चरणमा रहेको बताए । उपोभोक्ताले कर्मचारीलाई सधै अविश्वास गर्ने प्रवृति बन्द गर्नुपर्ने बताउदै उनले अवैध आयात नियन्त्रणमा आफुहरु प्रयासरत रहेको बताए ।

यसअघि भारतमा वर्ड फ्लु देखिएपछि नेपालमा कुखुरा आयात प्रतिवन्ध गरिएको छ । तर, यतिबेला देशको राजधानी काठमाण्डौं, चितवनसहित पूर्वी क्षेत्रमा समेत वर्ड फ्लु देखिएकाले यसप्रति सरोकारवालाहरुले गम्भीर चिन्ता ब्यक्त समेत गरेका छन् ।

उपोभोक्ताले पनि एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा किनबेच गर्दा कुखुरा उत्पादन भएको क्षेत्रको प्रमाण हेरेर मात्र किन्नुपर्नेमा कार्यक्रममा बताइएको थियो । अन्तरजिल्ला कुखुरा बेच्दा व्यवसायीले कुखुरा निरोगी भएको प्रमाणित गर्नुपर्छ । प्रमाण नभएका, अवैध आयात भएका कुखुरा बेचेको पाइएमा १० हजार रुपैयासम्म जरीवाना हुन सक्ने व्यवस्था छ ।