बाँकेमा हात्तीपाईले अभियना शुरु, उचाई नापेर औषधि खुवाइदै


बाँकेमा हात्तीपाईले अभियना शुरु, उचाई नापेर औषधि खुवाइदै

नेपालगन्ज २८ फागुन : राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्र्तगत बाँकेका ८ ओटै पालिकामा आम औषधी सेवन कार्यक्रम शुरु भएकोछ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बाँकेमा एकैसाथ कार्यक्रम सञ्चालनमा आएको बताए ।

उनका अनुसार बाँकेका ८ वटै पालिकाका स्थानीय तहमा शनिबार एकैपटक औषधी सेवन कार्यक्रम सञ्चालनमा ल्याइएको हो । जिल्लाका कुल ५ लाख ६८ हजार ३९ जनालाई औषधि खुवाइने छ । यसका लागि ५६० जना स्वास्थ्यकर्मी तथा ७८९ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएकोछ ।

यता नेपालगन्ज उपमहानगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतले सामुहिक रुपमा औषधी सेवन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम बाँकेमा विगत ११ वर्षदेखी सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम ६ वर्षमा सम्पन्न हुनुपर्नेमा सर्बसाधारणले औषधी सेवन गर्न नमान्दा पछाडी सरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

पालिका अनुसार औषधि सेवन गर्नेहरुको संख्या

बाँकेको कोहलपुर नगरपालिकाका ८२ हजार २ सय ६९ जना, खजुरा गाउँपालिकाका ५९ हजार एक सय ९३ जना, जानकी गाउँपालिकाका ४३ हजार ९ सय २८ जना, डुडुवाका ४५ हजार ६ सय ७९ जना, नरैनापुरका ४२ हजार एक सय एक जना, नेपालगन्जका एक लाख ६१ हजार ७ सय ५ जना, बैजनाथ गाउँपालिकाका ६२ हजार ६ सय ७२ र राप्तीसोनारी गाउँपालिकाका ७० हजार ४ सय ९२ जना गरि कुल ५ लाख ६८ हजार ३९ जना नागरिकलाई हात्तिपाईले विरुद्धको औषधि खुवाइदैछ ।

हात्तीपाइले रोग निवारणका लागि बाँकेसहित ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको छ । तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा बाँके, दाङ, कैलाली, कपिलबस्तु र मोरङ रहेका छन् । यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो । ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ । भने १० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ ।

स्वास्थ्य कार्यालय बाँकेकी हात्तिपाईले रोगकी फोकल पर्शन दुर्गा गौतमका अनुसार बाँकेमा सबैभन्दा बढि ८७ बैजनाथ गाउँपालिका र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा ४९ प्रतिशत औषधि कभरेज रहेकोछ ।
गौतमका अनुसार गत वर्ष बैजनाथमा ८७, कोहलपुरमा ८४, नरैनापुरमा ८३, खजुरामा ८२, जानकीमा ७७, राप्तीसोनारीमा ७१ र डुडुवा गाउँपालिकामा ७० प्रतिशत कभरेज रहेको थियो ।

बाँकेले गरेको सर्वेक्षणमा लगातार पाँचौ पटकसम्म औषधि खानेको ४४ प्रतिशत मात्रै रहेकोछन् ।

उचाई अनुसार औषधि मात्रा

यसपटक बाँकेमा हात्तीपाइले रोग विरुद्ध तीन वटा औषधि खुवाइने छ । यसअघिका औषधिबाट रोग निवारण हुन नसकेनपछि यसपटक आइभरमेक्टिन औषधि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

हात्तीपाइले रोगविरुद्ध खुवाइने डाइथाइलकार्बामाजिन, अल्बेन्डाजोल र आइभरमेक्टिन औषधि व्यक्तिको उचाइअनुसार खुवाउनुपर्ने हुन्छ ।

जसअनुसार ९० सेमिभन्दा तल, तर २ वर्षभन्दा माथिका लाई आइभरमेक्टिन खुवाउनुपर्दैन भने डाइथाइलकार्बामाजिन र अल्बेन्डाजोल १–१ चक्की खुवाउनुपर्छ।

यस्तै, ९० सेमिदेखि ११२ सेमिसम्म, ११३ देखि १३३ सेमिसम्म, १३३ सेमिदेखि १४६ सेमिसम्म र १४७ सेमिदेखि माथिकालाई क्रमशः १, २, ३ र ४ चक्की आइभरमेक्टिन खुवाउनुपर्छ ।

यस्तै, सो उचाईसमूहका लागि डाइथाइलकार्बमाजिन क्रम १, २, ३ र ४ चक्की खुवाउनुपर्छ भने अल्बेन्डाजोल सबैलाई १–१ चक्की दिन किन्छ ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी बाहेक अरु सबैले औषधि सेवन गर्न सक्ने छन् ।

बाँकेमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु हुनु खघि सन् २००१ मा २०.८ प्रतिशत रोगी थिए । ११ औं चरणको औषधि अभियानसम्म पुग्दा ५.५ प्रतिशत हात्तिपाईले रोगका संक्रमित रहेकाछन् ।