क्षयरोग नियन्त्रण भयावह बन्दै : वर्सेनि १६ हजारको मृत्यु हुन्छ

बाँकेमा ६ महिनामै २५ जनाले ज्यान गुमाए


क्षयरोग नियन्त्रण भयावह बन्दै : वर्सेनि १६ हजारको मृत्यु हुन्छ

नेपालगन्ज १० चैत्र : ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ ।

सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एशियाका स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षयरोग मुक्त नेपाल बनाउने प्रतिबद्धता जनाएको थियो ।

सो अनुसार स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहमा चालु आर्थिक वर्षबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यान्वयनमा आएको थियो ।

आगामी आर्थिक वर्षमा अरु थप स्थानीय तहमा पनि यो अभियान लागु गर्ने र आगामी चार वर्षभित्र देशका सबै स्थानीय तहमा अभियान कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ । ६ महिनादेखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको छ, तर बिरामी संख्या घटेको छैन । क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती रहेको विज्ञहरु बताउँछन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर, ४० हजार बिरामी सम्पर्कबाहिर रहेको केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुर बताउँछन् ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको पत्ता लागेको थियो । यो रोगबाट नेपालमा वर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको सर्वेक्षणबाट पत्ता लागेको थियो ।

सरकारको दिगो विकास लक्ष्यमा क्षयरोग निवारण पनि परेको छ । सन् २०३० सम्ममा क्षयरोगका बिरामी प्रतिलाख जनसंख्यामा २० जनाभन्दा कममा झार्ने, २०३५ सम्ममा प्रतिलाखमा १० भन्दा कम बनाउने र २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष्य छ ।

प्रतिलाख २४५ जनामा क्षयरोग भेटिएको छ । यो अवस्थाले २०३५ सम्म क्षयरोग उन्मूलन गर्न नसकिने देखाउँछ । उपचार प्रक्रियामा आएका भन्दा नआएका बिरामी बढी रहँदा सरकारले त्यसको खोजीसम्म गर्न सकेको छैन ।

संक्रमित पहिचान गर्न नसकेको अवस्थामा एक वर्षमा १० देखि १५ जनासम्मलाई संक्रमण गर्ने सरुवा रोग हो यो । प्रत्येक वर्ष ४५ हजारभन्दा बढी संक्रमित पहिचान गर्न नसक्नुले भयावह रूप लिइसकेको विज्ञहरु बताउँछन् ।
वार्षिक ४५ हजार हाराहारी बिरामी थपिने अनुमानको भरमा लामो समय काम गर्दाको परिणाम भयावह हुदैँ गएको हो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ मा क्षयरोग नियन्त्रणका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको छ । क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँछ ।

यता स्वास्थ्य कार्यालय बाँकेको गत वर्षको तथ्यांक हेर्दा वर्षभरी ३७ जना क्षरोगीको मृत्यु भएको थियो । भने बाँकेमा चालू आर्थिक वर्षको ६ महिनामै क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुष महिनासम्म क्षयरोगबाट २५ जनाले ज्यान गुमाएका हुन् ।

यसरी ज्यान गुमाउनेहरुको संख्या युवा र बृद्धबृद्धा बढि रहेकाछन् । यस्तै बाँकेमा चालू आर्थिक वर्षकोे ६ महिनामा क्षयरोगका नयाँ विरामी ४९४ जना फेला परेका छन् । भने गत वर्ष मात्रै बाँकेमा ८ सय ३५ जना क्षयरोगी फेला परेका थिए । यसले पनि बाँकेमा क्षयरोग संक्रमणको जोखिम बढ्दो क्रममा रहेको पाइएकोछ ।

थप समाचार

बाँकेमा क्षयरोगबाट ज्यान गुमाउनेको संख्या बढ्दो