बाँकेमा क्षयरोगबाट ज्यान गुमाउनेको संख्या बढ्दो


बाँकेमा क्षयरोगबाट ज्यान गुमाउनेको संख्या बढ्दो

नेपालगन्ज ९ चैत्र : क्षयरोग अर्थात टिबीका कारण बाँकेमा वर्षेनी ज्यान गुमाउने संख्या बढ्दो पाइएकोछ ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको सरोकारवाला तथा सञ्चारकर्मीसँगको अन्तरक्रियामा सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो ।

स्वास्थ्य कार्यालय बाँकेको गत वर्षको तथ्यांक हेर्दा वर्षभरी ३७ जना क्षरोगीको मृत्यु भएको थियो । भने बाँकेमा चालू आर्थिक वर्षको ६ महिनामै क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुष महिनासम्म क्षयरोगबाट २५ जनाले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेहरुको संख्या युवा र बृद्धबृद्धा बढि रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार बाँकेमा क्षरोगीले ज्यान गुमाउने संख्या बढेको मात्र छैन, क्षरोगी भेटिने क्रम पनि बढ्दो छ ।

बाँकेमा चालू आर्थिक वर्षकोे ६ महिनामा क्षयरोगका नयाँ विरामी ४९४ जना फेला परेका छन् । भने गत वर्ष मात्रै बाँकेमा ८ सय ३५ जना क्षयरोगी फेला परेका थिए । यसले पनि बाँकेमा क्षयरोग संक्रमणको जोखिम बढ्दो क्रममा रहेको पाइएकोछ ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकलाई हेर्दा बाँकेमा सबैभन्दा धेरै नेपालगन्जमा क्षयरोगी विरामी भेटिने गरेकाछन् । नेपालगन्जमा २३८, कोहलपुरमा १४५ र खजुरामा १०७ जना क्षयरोगी फेला परेका छन् ।

यसैगरि राप्तीसोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेला परेको फोकल पर्सन नेपालीले जानकारी दिए ।

क्षयरोगी विरामी थपिनेक्रम बढ्दो रहेको बाँकेमा प्रत्येक वर्ष १३ सय ८६ जना उपचारको दायरामा आउनु पर्ने हो । तर, अहिले उपचारको पहुँचमा ४९४ जना मात्रै छन् । ८९२ जना सम्पर्कविहीन रहेकाछन् । यसले पनि उनीहरुबाट समुदायका निरोगी संक्रमित हुने सम्भावना बढ्दै गएको प्रति स्वास्थ्य कार्यालय बाँकेले चिन्ता ब्यक्त गरेकोछ ।