स्थानीय तह निर्वाचन २०७९

चुनावी मैदानमा खटिए निर्वाचन अधिकृत, के-के काम हुँदैछ ?


सेतोखरी सेतोखरी   शुक्रबार, वैशाख ९, २०७९
चुनावी मैदानमा खटिए निर्वाचन अधिकृत, के-के काम हुँदैछ ?

नेपालगन्ज ९ बैशाख : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बाँकेसहित ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गत चैत १३ गते नियुक्त भएका उनीहरुले आगामी जेठ मसान्तसम्म स्थानीय तहमा रहेर काम गर्नेछन् ।

निर्वाचन सम्पन्न गरी उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिने तथा गाउँ तथा नगर कार्यपालिकाको चुनाव गराएर मात्रै उनीहरुको काम सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन अधिकृतको काम उम्मेदवारी दर्ता गर्नेदेखि मतदान गराउने, मतगणना गराउनेदेखि निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र दिनेसम्मको काम हुन्छ । यस्तै स्थानीय तहमा पदाधिकारी निर्वाचित भइसकेपछि गाउँ तथा नगर कार्यपालिकाको चुनाव गराएर मात्र उहाँहरु फर्किनुहुनेछ ।’

स्थानीय तहमा कार्यालय स्थापना गरेका निर्वाचन अधिकृतहरूले तत्काल स्थानीय राजनीतिक दलहरूसँग अन्तरक्रिया गरेर निर्वाचन कार्यक्रमको सूचना टाँस गर्नेछन् । आचारसंहिता अनुगमनदेखि निर्वाचनसम्बन्धी काम गर्नका लागि उनीहरुले आफ्नो कार्यालयमा १० जनासम्म कर्मचारी नियुक्त गर्छन् ।

यस्तै वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्छन् । त्यसपछि उम्मेदवारमाथिको दावी विरोधको सूचना निकाल्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम गर्छन् । उम्मेदवारको अन्तिम नाम प्रकाशन गरेसँगै उनीहरुलाई निर्वाचन चिह्न वितरण गर्छन् । निर्वाचनको दिनको अघिल्लो दिनभित्र मतदानस्थल र केन्द्रको व्यवस्थापन गर्छन् ।

वैशाख ३० गते मतदान केन्द्रमा निर्वाचन गराउँछन् । मतदान स्थलमा अधिकृत, सहायक मतदान अधिकृतलाई खटाइन्छ । मतदान सकिएपछि मतपेटिका संकलन गरी मतगणना सम्पन्न भएपछि मतपरिणाम सार्वजनिक गर्छन् । निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र दिने तथा निर्वाचित भएको १५ दिनभित्र गाउँ÷नगर कार्यपालिकाको निर्वाचन गराएपछि उनीहरुको काम सम्पन्न हुन्छ ।

आगामी जेठ महिनाभर उनीहरुको पदावधी कायम रहने आयोगले जनाएको छ । आयोगले गत चैत १३ गते ७७ जिल्ला न्यायाधीश तथा राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको थियो ।

जसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश खडानन्द तिवारी र कोहलपुर नगरपालिकामा जिल्ला अदालत बाँकेका श्रेष्तेदार तिर्थराज भट्टलाई निर्वाचन अधिकृत तोकेको छ ।
खजुरा गाउँपालिकामा जिल्ला समन्वय समिति बाँकेका जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनारलाई निर्वाचन अधिकृत तोकेको छ भने जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मालाई जानकी गाउँपालिकामा खटाइएको छ ।

यस्तै आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता नवीन कुमार भट्टलाई डुडुवा गाउँपालिका, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई राप्तीसोनारी गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।

त्यस्तै निर्वाचन आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता टेक बहादुर थापालाई बैजनाथ गाउँपालिका र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रेशम आचार्यलाई नरैनापुर गाउँपालिकामा खटाएको छ ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेकाछन् । यी पालिकामा कुल १३६ वटा मतदान केन्द्र रहेकोछ । भने जिल्लाको करिब ६९ किमि खुला सीमा रहेकोछ ।

हिजो बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय संगै बाँकेका ८ वटै पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकोछ । कार्यालय स्थापनासंगै निर्वाचन अधिकृतले कार्यालय व्यवस्थापन गर्दै सम्बन्धित क्षेत्रमा काम सुरु गरिसकेकाछन् ।

यस्तै आयोगले हालसम्म १ करोड २० लाख हाराहारी मतपत्र प्रकाशन गरिसकेको छ । आयोगले झन्डै २ करोड मतपत्र प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको छ । केही दुर्गम जिल्लाहरुमा आयोगले मतपत्र पठाउने काम समेत सुरु गरिसकेको छ ।

थप समाचार

निर्वाचन कार्यालयलाई चुनावी चटारो, जनशक्ति अभावमा कामको दबाब