स्थानीय तह निर्वाचन २०७९

निर्वाचन कार्यालयलाई चुनावी चटारो, जनशक्ति अभावमा कामको दबाब


निर्वाचन कार्यालयलाई चुनावी चटारो, जनशक्ति अभावमा कामको दबाब

निर्वाचन मिति नजिकिएसंगै निर्वाचन कार्यालयमा कामको चाप बढेकोछ । मत पेटिका सफा गर्दै जिल्ला निर्वाचन कार्यालय बाँकेका कर्मचारी । तस्विर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज ९ वैशाख : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनसँग सम्बन्धित काम बढ्दै गएका छन् । निर्वाचन कार्यालय बाँकेले अहिले निर्वाचनको तयारीलाई तीव्ररुपमा अगाडि बढाइरहेको छ । योसंगै निर्वाचन कार्यालय बाँकेको दैनिक कामको चाप बढेकोछ ।

आसन्न निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला निर्वाचन कार्यालय बाँकेले हिजो बुधबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायत ८ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले बिहीबार शिक्षा विकास तथा समन्वय ईकाइ नेपालगन्जको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरेको हो ।

बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले कार्यालयको ब्यानर पढेर औपचारीक रुपमा उद्घघाटन गर्दै कार्यालय स्थापना भएको जानकारी दिए । उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखेको छ । तर, कार्यालयलाई कामको व्यवस्थापन गर्न भने चुनौतिपूर्ण अवस्थाको सामना गर्नु परेको छ ।
जनशंक्ति प्रर्याप्त मात्रामा नभएपछि निर्वाचन कार्यालयलाई काममा असर परेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

आवश्यक जनशक्ति अभावका कारण निर्वाचन कार्यालय बाँकेलाई कामको दबाब पनि बढेको छ । बाँके जिल्ला निर्वाचन कार्यालय अहिले ७ जना कर्मचारी कार्यरत छन् । जुन निर्वाचन आयोग नेपालको केन्द्रियस्तरको नीतिअनुसार हो । तर, निर्वाचनको समय नजिकिँदै जाँदा दैनिक कामको चाप बढेपछि जनशक्तिको अभाव भएको हो ।

हाल निर्वाचन कार्यालय बाँकेमा निर्वाचन अधिकृत रमा पन्तसहित ७ जना कर्मचारी कार्यरत छन् । निर्वाचन कार्यालयमा ४ जना स्थायी हुन भने ३ जना करारमा छन् ।

निर्वाचन अधिकृत, लेखा शाखा प्रमुख, कम्प्युटर अपरेटर, नायब सुब्बा, सवारी चालक र २ जना कार्यालय सहयोगी गरी ७ जनाको दरबन्दी छ । तर, निर्वाचनको समयमा उपलब्ध जनशक्तिकै भरमा काम गर्नु परेको बाँके जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकृत पन्त ।

उनले भनिन्, ‘निर्वाचन आयोग नेपालको नीतिअनुसार हामीले काम गर्नु पर्ने हुन्छ । कार्यालयमा कर्मचारी अभाव छ । तर, हामीले अन्य कार्यालयबाट कर्मचारी सहयोगमा लिन सक्ने व्यवस्था मिलाइरहेका छौं ।’

निर्वाचन अधिकृत पन्तका अनुसार तथ्यांक संकलन र अपडेटका बेला निर्वाचन आयोगले थप जनशक्ति परिचालन गरेर काम गर्ने गरेको छ । तर, त्यो सकिएपछि कार्यालयको काममा निर्वाचन कार्यालयमै उपलब्ध जनशक्तिले काम गर्ने हो ।

उनका अनुसार जनशक्ति अभाव भएपनि जनशक्ति थप्ने अधिकार छैन । त्यसैले पनि उपलब्ध जनशक्तिको दैनिक कामको चाप धेरै छ । त्यसलाई सकेसम्म व्यवस्थित गरेर अघि बढिरहेका छौं ।

संघीयताको कार्यान्वयनपछि हुन लागेको दोस्रो पटकको स्थानीय तह निर्वाचनलाई लिएर जिल्ला निर्वाचन कार्यालय यतिबेला आवश्यक सरसामान, उपकरण लगायतका सामाग्रीको व्यवस्थापन र चुस्तदुरुस्त राख्ने काम गरिरहेको निर्वाचन अधिकृत पन्तले जानकारी दिइन् ।

‘निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय बाँके जनशक्ति व्यवस्थापनको काममा जुटेको छ’ पन्तले थपिन्–‘यतिबेला मतदान स्थल र केन्द्रका लागि चाहिने जनशक्तिको विवरण संकलनको काममा ब्यस्त छौं ।’

निर्वाचन कार्यालयले मतदान स्थल व्यवस्थापनका लागि अवलोकन गरिसकेको छ । बाँकेका ८ पालिकाका लागि करिब ४५ सय जनशक्ति आवश्यक छ । सबैभन्दा बढि नेपालगन्जमा जनशक्ति आवश्यक रहेकोछ । त्यसका लागि विभिन्न सरकारी कार्यालय कर्मचारी चयन गरेर विवरण तयार पार्ने काम भइरहेको छ । एउटा मतदान स्थलमा कम्तीमा ७ जना कर्मचारी परिचालन गर्नुपर्ने भएकोले सोही अनुसार विवरण तयार पार्ने काम अघि बढेको छ ।

संकलन गरिएको कर्मचारीको विवरणबाट निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत तयार पारेर सबन्धित पालिकामा पठाउने तयारी रहेको उनले बताइन । ‘मतदान स्थल अनुसार पठाउने सामग्रीको पोका पार्ने काम पनि भइरहेको छ । केन्द्रबाट मतदाता नामावली, मतपत्र लगायतका सामाग्री शनिबारसम्म आइपुग्ने र त्यसअघि स्थानीय स्तरमा खरिद गर्ने सम्पूण सामग्रीको तयारी भइरहेको छ ।’

बाँकेका हिजो बुधबार एकैपटक मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायत पालिका स्तरमा निर्वाचन अधिकृतको कार्यालय खोलिसकेकोले थप काम निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढिसकेकोछ ।

थप समाचार 

बाँकेका ११२ मतदान स्थल संवेदनशील

बाँकेका ८ स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

बाँकेमा सबैभन्दा बढि नेपालगन्जमा मतदाता

बाँकेका ५५५ जनासँग इजाजत प्राप्त हतियार, सबैभन्दा बढि नेपालगन्जमा

बाँकेमा राष्ट्रिय दलको मान्यता नपाएका २३ दल चुनावी प्रतिस्प्रर्धामा

लुम्बिनी प्रदेश : बाँके सबभन्दा संवेदनशील