बाँके क्षेत्र नम्बर–१ मा गठबन्धनको चेपुवामा काँग्रेस


बाँके क्षेत्र नम्बर–१ मा गठबन्धनको चेपुवामा काँग्रेस

नेपालगन्ज २६ साउनः जिल्लामा काँग्रेसको राजनीतिमा बर्चश्व जमाएको क्षेत्र हो, बाँके क्षेत्र नम्बर १ । यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै बाँके काँग्रेसमा जिल्ला सभापतिसहित थुप्रै पदमा आसिन छन् ।

काँग्रेसको जिल्लादेखी केन्द्रसम्म राम्रो सम्बन्ध बनाएका नेताहरु रहेको उक्त क्षेत्रमा आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी एक्लै लड्ने या गठबन्धन गरेर लड्ने ? भन्ने कुराको टुंगो लाग्न सकेको छैन । आसन्न निर्वाचनमा पाँच दलबीच गठबन्धन गरेर चुनाव लड्ने केन्द्रमा भने सहमती भइसकेको छ । यद्यपी, गठबन्धनभित्र रहेका कुन दललाई कुन–कुन निर्वाचन क्षेत्र दिने भन्ने टुंगो लागिसकेको छैन ।

पार्टीको जिल्लादेखी केन्द्रसम्म पहुँच राख्ने नेताहरुको बर्चश्व रहेको उक्त क्षेत्रमा गठबन्धन भईहालेपनि प्रतिनिधी सभाको एउटा सिट वा प्रदेश सभाको दुई वटा सिट मध्ये काँग्रेसले कुन पाउँछ ? या गठबन्धनबाट अन्य दलको भागमा पर्छ ? अहिले आम रुपमा चासोको विषय बनिरहेको छ । अर्कोतर्फ गठबन्धनका कारण उक्त क्षेत्रमा काँग्रेसलाई आफ्ना नेता ब्यवस्थापन गर्न समस्या हुने संकेत देखिएको छ । गठबन्धनकै कारण काँग्रेस चेपुवामा परेको छ ।

गठबन्धन भएर क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सांसदको उम्मेदवार काँग्रेसको हातबाट फुत्कियो भने फिर्ता ल्याउन कयौं वर्ष कुर्नुपर्ने अवस्था आउने निश्चित रहेको कार्यकर्ताहरुको तर्क छ । त्यसैपनि उक्त क्षेत्र विगत दुई दशकदेखी काँग्रेसको हातबाट फुत्किँदै आएको छ । जबकी क्षेत्र नम्बर–१ काँग्रेसको सबैभन्दा धेरै बाहुल्यता रहेको क्षेत्र हो ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला सभापति नारायणप्रसाद गौडेल, पुर्वसांसद ज्ञानु केसी, काँग्रेसका लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल र अञ्जना पाण्डे, जिल्ला उप–सभापति कृष्ण कार्की, सचिव सञ्जुकुमारी थारु, पुर्वजिल्ला सचिव तप्तबहादुर पौडेल, क्षेत्रीय सभापति पोषणराज केसी, पुर्वक्षेत्रीय सभापति माधवराम खत्री, पुर्वजिल्ला उप–सभापतिद्वय लाहुराम थारु र फुलाराम थारु, प्रदेश सभा–१ ‘क’ का सभापति लक्ष्मण थारु, युवा नेता तथा तरुण दलका पुर्वमहामन्त्री हुर्मत न्यौपाने, काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, युवा नेता पूर्णप्रसाद आचार्य लगायतले सोही क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका छन् ।

यि मध्ये केहीले प्रतिनिधी सभा र केहीले लुम्बिनी प्रदेश सभा सांसदको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्, भने केही नेताहरु हालै स्थानीय तहमा निर्वाचित भइसकेका छन् ।

काँग्रेसभित्र घात/अन्तरघात नहुने हो, भने यस क्षेत्रमा चुनाव जित्न अन्य दललाई हम्य–हम्य नै पर्छ । यो क्षेत्र यसपटक काँग्रेसको हातबाट फुत्कियो भने २०७९ सालपछि हुने अन्य चुनाव जित्न काँग्रेसका लागि निकै महंगो पर्ने विश्लेषण भइरहेको छ ।

त्यसैपनि, पार्टीले यस क्षेत्रमा थुप्रै नेताहरुलाई ब्यवस्थापन गर्न सकेको छैन । यो चुनावमा गठबन्धन भएर फरक दलले उम्मेदवार पाएमा काँग्रेसका नेता, कार्यकर्ताहरुमा झनै निराशा छाउने देखिन्छ । काँग्रेसका तत्कालिन सांसद ज्ञानु केसीपछि क्षेत्र नम्बर–१ मा काँग्रेसले लगातार हार ब्यहोर्दै आएको छ ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार गजेन्द्र हमाललाई पराजित गरी माओवादीका तिलक परियार निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधान सभामा काँग्रेसका उम्मेदवार नारायणप्रसाद सिग्देललाई पराजित गरेर एमालेका देवराज भार निर्वाचित भए ।

२०७४ सालको निर्वाचनमा काँग्रेसका माधवराम खत्रीलाई पराजित गर्दै तत्कालिन बामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार महेश्वरजंग गहतराज ‘अथक’ निर्वाचित भए । प्रदेश सभा–१ ‘क’ मा काँग्रेसका उम्मेदवार शरदचन्द्र बर्मालाई हराउँदै बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी कृष्णा केसी ‘नमुना’ निर्वाचित भईन् । प्रदेश सभा–१ ‘ख’ मा काँग्रेसका नारायणप्रसाद गौडेललाई पराजित गर्दै बाम गठबन्धनका तर्फबाट एमालेकी आरती पौडेल निर्वाचित भएकी थिइन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम हेर्दा उक्त क्षेत्रमा काँग्रेसको अझैपनि बलियो स्थिती रहेको देखिन्छ । उक्त क्षेत्र अन्तरगत पर्ने कोहलपुर नगरपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख सहित बहुमत वडा जितेको छ । राप्तीसोनारी गाउँपालिकाको सबै वडा हारेपनि प्रमुख र उपप्रमुख जितेको छ । नरैनापुर गाउँपालिकामा प्रमुख र उपप्रमुख हारेपनि कार्यपालिकामा काँग्रेसकै बहुमत रहेको छ ।

थप समाचार

बाँकेमा बढ्यो चुनावी सरगर्मी, टिकटका लागि ‘गठबन्धन बाधक’