नेपालगन्ज ५ भदौ : नेपाली काँग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थिव शरीर पार्टी केद्रिय कार्यालय सानेपामा राखिएको छ । गिरिको पार्थिव शरीरलाई आईतबार बिहान ११ बजेदेखि पार्टी कार्यालयमा राखिएको हो ।
श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय नेताहरु सानेपा पुगेका छन् । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरे ।
यसअघि पुर्व राष्ट्रपति रामवरण यादव, काँग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, काँग्रेस नेता शेखर कोइराला, काँग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका थिए ।
पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस नेता अर्जुन नरसिंहकेसी लगायतका नेताहरु गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए ।
गिरिको शव दिनभर पार्टी कार्यालयमा राखेर अपरान्ह पशुपति आर्यघाटमा लगिने काँग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।
यसैबीच नेपाली काँग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने भएकोछ । नेपाली काँग्रेसको केन्द्रिय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रिय समितिको बैठकले पूर्वकेन्द्रिय सदस्य तथा सांसद प्रदीप गिरिको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ ।
यस्तै, १३ दिनसम्म देशभरका कार्यालयहरुमा प्रदीप गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको हो । उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो ।
विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए ।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डाक्टर पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो । गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लागेका थिए । बुवा मित्रलाल गिरी काँग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले प्रदीपको राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए ।
२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्बर–५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । २०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
काँग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि पनि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।
थप समाचार
काँग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने
काँग्रेस नेता प्रदीप गिरीको निधन