काँग्रेस नेता प्रदीप गिरीको निधन


काँग्रेस नेता प्रदीप गिरीको निधन

नेपालगन्ज ४ भदौ : नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको हो ।

उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो ।

काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डाक्टर पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लागेका थिए । बुवा मित्रलाल गिरी काँग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले प्रदीपको राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए ।

२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्बर–५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । २०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

काँग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि पनि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।