फलको राजा आँपः प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेडको स्रोत


फलको राजा आँपः प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेडको स्रोत

गर्मीयामसंगै हिजोआज चारैतिर फलको राजा भनिने आँपकै बाहुल्य छ । आयुर्वेदमा यसलाई औषधितुल्य फल भनिएको छ । यसमा प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेड, सर्करा प्रशस्त मात्रामा पाइन्छ । शास्त्रहरूमा अमृत फलका रूपमा वर्णन गरिने काँचो वा पाकेको आँप दुवैमा औषधीय गुण हुन्छ । आँपको चिकित्सकीय रूपमा फल र रूखको वर्णन चरक संहिता, सुश्रुत संहिता लगायतका विभिन्न ग्रन्थ सँगै चन्द्र निघन्टुमा समेत छ । यसमा मधुर रस हुने भएकोले शरीरको हरेक कोषिका निर्माण गर्न असाध्य राम्रो मानिन्छ । तर, अहिले विषादीले आँपको महत्वलाई बिगारेको छ ।

विषादी उपयोग नगरिएको, कार्बाइडलगायतका रसायन उपयोग नगरी प्राकृतिक रुपमा पाकेको आँप शरीरका लागि अत्यन्त राम्रो मानिन्छ । आयुर्वेदका अनुसार पाकेको आँप कफवर्द्धक हुन्छ । यसको सेवनले जिउ बलियो हुन्छ । यो रुचिकर हुनुको साथै शक्तिसमेत दिन्छ । पाकेको आँप प्राकृतिक रूपमा भिटामिन ‘ए’ र ‘डी’ को उच्च स्रोत हो । यसमा पोटेसियमसमेत हुन्छ । आँपमा एन्टिअक्सिडेन्ट, भिटामिन ‘सी’, फिनोल, क्यान्सरविरोधी तत्त्वहरूसमेत पाइन्छ । यसमा करिब २५ प्रकारका कैरोटेनायडस पाइन्छन् ।

आँपमा भएको म्यागोफेरिलले कलेजोलाई स्वस्थ बनाउनुका साथै पित्तलाई निकाल्ने काम गर्छ । काँचो आँप पित्तवर्द्धक हुनुको साथै स्वादिलो, रुचिकर, भोक लगाउने, लू लाग्नबाट जोगाउनेलगायतका गुणले परिपूर्ण हुन्छ । बच्चादेखि बृद्धसम्म सेवनका लागि फलदायी मानिने आँपलाई पहिले शरीरलाई बढाउन,बृद्धि गर्न दुधसँग खाने चलन थियो । अझै गाउँ घरमा आँप र दुध खाने चलन छ । डा.कोपिला अधिकारी भन्छिन्‘बात पित्तलाई नाश गर्छ, दुधसँग मिसाएर खाएको आँपले रुचि बढाउँछ, तौल बढाउँछ, वीर्य वर्द्धक हुनुको साथै छाला लाई समेत राम्रो बनाउँछ, चुसेर खाने आँपले खानामा रुचि बढाउँछ, बल बढी दिन्छ, धातु बढाउँछ ।’

यस्तै, आँपले छालालाई राम्रो बनाउँछ, मुटुलाई राम्रो गर्छ, बलवर्द्धक हुन्छ, रुचि बढाउँछ । आँपको रस धेरै मात्रामा सेवन गर्दा यसले तौल बढाउँछ । यसैले बढी तौल भएकाहरूले सन्तुलित मात्रामा सेवन गर्नुपर्छ भने पातलो व्यक्तिले खाँदा राम्रो हुन्छ । आँपको वैज्ञानिक नाम ‘मैगीफेरा इडिका’ हो । विश्वमा १५०० सयभन्दा बढी किसिमका आँप पाइन्छन् । विभिन्न तथ्यपत्रहरूअनुसार आँप करिब ५ हजार वर्षअघि भारतीय उपमहाद्वीपमा उमारिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोयासमेत उपयोगी
आँपको कोया (सिड) समेत स्वास्थ्यका दृष्टिकोणले अति फाइदाकारी छ । कोयाको बाहिरी कडा तह हटाएरभित्रको गुदीबाट आयुर्वेदमा विशेष प्रकारको ‘पुष्यानुग चूर्ण’ बनाइन्छ । यो चूर्णले महिला प्रजनन् तन्त्रलाई बलियो बनाउँछ । यो बाझोपनका लागि समेत राम्रो औषधि हो । यो चूर्णले महिलाहरूमा सेतो पानी बग्ने समस्यामा समेत उपयोगी हुन्छ भने शक्ति प्रदान गर्नसमेत सहयोगी हुन्छ ।

कामोद्दिपक गुण
आँप पुरुष र महिला दुवैका लागि कामोद्दिपक मानिएको छ । यसको सेवनले आन्तरिक शक्ति बढाउँछ, महिला पुरुष दुवैमा कामोद्दिपक प्रभाव समेत दिन्छ, यसले यौन शक्ति बढछ । आँपको सेवनले पिसाबसम्बन्धी समस्या जस्तै पोल्नु, रुकेर पिसाब आउनु आदिमा समेत फाइदा पुग्ने उनी थप्छन् ।

बोटमै पाकेको आँप सर्वोत्तम
आँपको बोटमै पाकेको आँप आयुर्वेद अनुसार सर्वोक्तम हो । आँपलाई रसायनको उपयोग नभएको परम्परागत घरेलु तरिकाले पाकेको आँप सेवन गर्नु राम्रो मानिन्छ । तर कार्बाइड लगायतका रसायन उपयोग गरेर पकाइएको आँपले स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने र यस्तो आँप सेवनले कलेजो, मृगौला लगायतको अंगमा क्षति पु¥याउँछ । कार्बाइड उपयोग गरेर पकाइको आँपको शंका भए त्यसलाई रातभरी पानीमा भिजाएर पछि खाँदा यसले सम्भावित क्षतिमा कमी ल्याउछ ।

आँपमा के के हुन्छ ?
विभिन्न तथ्यपत्रहरू अनुसार पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेड, क्याल्सियम, फास्फोरस, फलाम, भिटामिन ‘ए’,‘सी’ र ‘बी’ लगायतका हुन्छ । पाकेको आँप पोषक, शक्तिवर्धक र बोसो बढाउने खालको मानिन्छ । आँपको मुख्य घटक शर्करा हो जो विभिन्न फलमा ११ देखि २० प्रतिसत सम्म विद्यमान रहन्छ । यसमा पाइने मुख्यतः चिनी आँपको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ ।

ग्लुकोज र अन्य शर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म हुन्छ । यसमा टार्टरिक र मेलिक अम्ल समेत पाइन्छ । साइट्रिक अम्ल भने अल्प मात्रामा रहन्छ । यो अम्लको शरीरद्वारा उपयोग गरिन्छ र यो शरीरमा क्षारीय सञ्चय कायम राख्नमा सहयोगी हुन्छन् । आँपको अन्य घटकमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फास्फोरस ०.०२, र फालम ०.३ प्रतिशत रहन्छ । करिब ८६ प्रतिसत ओसलोपनाको मात्रा रहने आँपको एक सय ग्राममा औसत उर्जा करिब ९० क्यालोरीसम्म हुन्छ ।-हेल्थ टूडेबाट