नेपालगन्जिया परिकार ब्राण्डिङ्ग गर्न त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन’ बनाइने


नेपालगन्जिया परिकार ब्राण्डिङ्ग गर्न त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन’ बनाइने

नेपालगन्ज ३ वैशाखः कोरोना महामारीका कारण पछि धकेलिएको नेपालगन्जको पहिचानसँग जोडिएको नेपालगन्जिया परिकारको ब्राण्डिङ्ग गर्ने अभियान अघि सारिएकोछ । नेपालगन्जको पहिचान झल्किने खाने कुरालाई एकै ठाउँमा ब्यवस्थित गरि ब्राण्डिङ गर्न ‘स्ट्रीट फुड’ अर्थात ‘फुड लेन नेपालगन्ज’ बनाउने प्रक्रिया अगाडी बढाइएको छ ।

नेपालगन्जको आर्थिक अवस्था माथी उठाउने र पहिचान स्थापित गर्न यस्तो अभियानको थालनि गरिएको हो । नयाँ मुलुककको रुपमा चिनिने नेपालगन्जमा सीमान्तकृत, अल्पसंख्यक समुदायको समेत बसोबास छ । नेपालगन्ज धार्मिक तथा सामाजिक विविधता भएको शहर पनि हो । नेपालगन्जको यही विविधतामध्ये खानाको परिकार पनि एक मानिन्छ ।

नेपालगन्जमा पाइने परिकारले यो शहरको परिचय दिन्छन् । यहाँ पुस्तौंदेखि प्रचलनमा रहेका खानाका परिकारले यसक्षेत्रका रहनसहन, चालचलन, भाषा, संस्कृतिको परिचय दिन्छन् । जो नेपालगन्जको परिचय हो । अन्य शहरमा पाइने खानाका परिकारभन्दा छुट्टै स्वाद दिने परिकारले नेपालगन्जलाई चिनाउन मद्दत गरेका छन् । यहाँ निम्न वर्गदेखि उच्च घरानियाले खाने परिकार सहजै पाइन्छ । भारतीय परिकारको प्रभाव नेपालगन्जमा पाइने खानाका परिकारमा पनि परेको पाइन्छ । यस्तै नेपाली खानाका परिकारको प्रभाव पनि भारतमा परेको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको परिकल्पनामा नेपालगन्ज उपमहानगरपालिकाले उक्त प्रक्रियालाई अगाडी बढाएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले यो योजना कोरोना महामारी सुरु हुनु केही महिना अघि ल्याएका थिए । सो बेला उनले नेपालगन्जको मुुटु धम्बोझी चोकदेखि दक्षिण के खनाल होटलसम्मको दुरीमा एकतर्फी बाटो बन्द गरि स्थानीय र रैथाने खानाका परिकारसंगै नेपालगन्जको पहिचान स्थापित गर्न फुड फेस्टिबल गर्ने तयारी गरेका थिए । तर, सो बेला कोरोना संक्रमण उच्च विन्दुमा पुगेपछि उक्त योजना स्थगित गरेका थिए ।

सोही योजना अन्र्तगत नेपालगन्ज उपमहानगरपालिकामा शनिबार विभिन्न सरोकारवालाबीच छलफल गर्दै स्थानीय त्रिभुवन चोक क्षेत्रलाई ‘फुड लेन’ बनाउने निर्णय भएको छ ।

नेपालगन्जको त्रिभुवन चोक पश्चिम नेपालकै पुरानो बजार हो । उक्त क्षेत्रमा नेपालगन्जको पहिचान झल्किने पानीपुरी, चाट, रावडी, बिरयानी, पान, दहीबडा जस्ता स्वादिष्ट परिकार खान पाइन्छ । तर, यि परिकारलाई बिक्री गर्ने ठाउँ र समयको उचित ब्यवस्थापन नहुँदा ब्राण्डिङ गर्न सकिएको छैन ।

नेपालगन्जको पहिचान झल्किने खाने कुरालाई एकै ठाउँमा ब्यवस्थित गर्नाले यिनको ब्राण्डिङ हुने र नेपालगन्जको आर्थिक अवस्था माथी उठ्ने विश्वास गरिएको छ । छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले तत्कालका लागि अहिले त्रिभुवन चोकको करिव डेढ सय मिटर वरिपरीको क्षेत्रलाई ‘फुड लेन’ बनाएर पछि बिस्तार गर्दै लैजाने बताए ।

‘त्रिभुवन चोक यहाँको पुरानो बजार हो, यहाँ अहिले पनि नेपालगन्जको पहिचान झल्किने खानेकुराहरु पाइन्छ, तर अब यहाँका पसललाई अलि ब्यवस्थित गर्ने, ब्यापारीलाई केही कुरा सिकाएर तत्कालका लागि राती १२ बजेसम्म खोल्न सकियो भने ब्राण्डिङ गर्न सकिन्थ्यो,’ उनले भने । यस विषयमा सम्बन्धित वडाका वडाअध्यक्षसँग आफुले छलफल पनि गर्ने मेयर विष्टले बताए ।

नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले ‘स्ट्रीट फुड’ ले नेपालगन्जको स्थानीय पहिचान झल्काउने बताए । स्ट्रीट फुड बनाउन निजी क्षेत्रले पहल गरेपनि उपमहानगरपालिकाले यसको अपनत्व लिनुपर्ने उनको भनाई छ ।

सो क्रममा पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापा, पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य झलक गैरे, हस्पिटालिटी विज्ञ भरत विष्ट, अभियन्ता डाक्टर बिनोद कर्ण र हेमन्तराज काफ्ले, सामाजिक अगुवा बिन्दु चर्तीमगर, निरन्जन राजभण्डारी, पर्यटनकर्मी रामजी पाठक लगायतले नेपालगन्जमा स्ट्रीट फुडको अपरिहार्यता रहेको भन्दै चाडो कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए ।

थप समाचार

यी हुन् ‘नेपालगन्जीया’ खानाका परिकार