यी हुन् ‘नेपालगन्जीया’ खानाका परिकार


यी हुन् ‘नेपालगन्जीया’ खानाका परिकार

तस्विर सौजन्य: नेपालगन्ज फोटो वाकर

नेपालगन्ज: नेपालको पुरानो शहरमध्ये ‘नेपालगन्ज’ एक हो । नेपालकै नामबाट राखिएको नेपालगन्जको परिकल्पना श्री ३ जंगबहादुरले गरेका थिए । नयाँ मुलुककको रुपमा चिनिने नेपालगन्जमा सीमान्तकृत, अल्पसंख्यक समुदायको समेत बसोबास छ । नेपालगन्ज धार्मिक तथा सामाजिक विविधता भएको शहर पनि हो ।

नेपालगन्जको यही विविधतामध्ये खानाको परिकार पनि एक मानिन्छ । नेपालगन्जमा पाइने परिकारले यो शहरको परिचय दिन्छन् । यहाँ पुस्तौंदेखि प्रचलनमा रहेका खानाका परिकारले यसक्षेत्रका रहनसहन, चालचलन, भाषा, संस्कृतिको परिचय दिन्छन् । जो नेपालगन्जको परिचय हो ।

अन्य शहरमा पाइने खानाका परिकारभन्दा छुट्टै स्वाद दिने परिकारले नेपालगन्जलाई चिनाउन मद्दत गरेका छन् । यहाँ निम्न वर्गदेखि उच्च घरानियाले खाने परिकार सहजै पाइन्छ । भारतीय परिकारको प्रभाव नेपालगन्जमा पाइने खानाका परिकारमा पनि परेको पाइन्छ । यस्तै नेपाली खानाका परिकारको प्रभाव पनि भारतमा परेको छ ।

भारत उत्तर प्रदेशको राजधानी लखनऊमा पाइने बिरयानीले नेपालगन्जमा पनि ख्याती कमाएको छ । नेपालगन्जका रैथानेको उठबस, विहावारी भारतबाट हुने भएकोले पनि भारतीय परिकारको प्रभाव नेपालगन्जमा पनि परेको हुन सक्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बिरयानी

बिरयानी नेपालगन्जको नाम चलेको परिकारमध्ये एक हो । बाहिरबाट आउने प्रायजसोले बिरयानीको स्वाद लिन एकलैनी बजार पुग्छन् । इस्लाम धर्मावलम्बीको मुख्य परिकारको रुपमा मानिने बिरयानीको स्वादले गैर इस्लाम धर्मावलम्वी पनि मोहित हुने गरेको पाइन्छ । बिरयानी चामल र मासु मिसाएर पकाइन्छ । नेपालगन्जमा मुवारक बिरयानी चर्चित छ । एकलैनीको मुवारक बिरयानीले चर्चा कमाएपछि अहिले नेपालगन्जमा विभिन्न स्थानमा बिरयानीको खाजा पसल खुलेका छन् । यहाँसम्मकी बिरयानीको माग बढ्दै गएपछि नेपालगन्जमा रहेका तारे होटलले पनि बिरयानी उपलब्ध गराउन थालेका छन् ।  बिरयानी धेरै ठाउँमा पाइने भए पनि पकाउने व्यक्तिको कलाकौशलको आधारमा स्वाद फरक–फरक हुने गरेको छ ।

सेकुवा

नेपालगन्जको परिकारमध्ये सेकुवा पनि प्रमुख मानिन्छ । नेपालगन्जको धम्बोझी चोक र बिपी चोकका होटलमा सेकुवा खान पाइन्छ । तर, नेपालगन्जको भेरी अस्पताल, पुष्पलाल चोक, क्युएफएक्स बागेश्वरी सिनेमा हल रोडमा पनि सेकुवाका पसल लस्करै देख्न पाइन्छ ।
पहिले खसीको मात्र सेकुवा पाइने नेपालगन्जमा अहिले बंगुर र लोकल कुखुराको सेकुवा पनि विक्री हुन थालेको छ । बेलुकीपख नेपालगन्जको बिपी चोक, धम्बोझी चोक, बागेश्वरी सिनमा हल, भेरी अस्पताल चोकमा सेकुवा खानेको ठूलो भीड लाग्ने गर्दछ ।
नेपालगन्जमा पाइने सेकुवाको प्रभाव नेपालगन्जमा मात्र सिमित छैन । यसको माग र स्वादलिन छिमेकी देश भारतका रुपैडिहा, नानपारा बहराईच, लखनउ र दिल्ली लगायतका ठाँउमाबाट आउनेगर्छन् । विशेषगरी दशैंतिहारमा भारतका विभिन्न स्थानबाट मानिसहरु नेपालगन्ज आएर सेकुवाको स्वाद चाख्ने गर्छन् । नजिक भएकाहरुले प्याकेजिङ्ग गरेर लानेसमेत गरेकाछन् ।

रावडी

रावडी दूधबाट बनेको विशेष परिकार हो रावडी । तीन पुस्तादेखि नेपालगन्जको त्रिभुवन चोकका मिठाई पसलमा रावडीको परिकार बिक्री हुँदै आएको छ । गन्यमान्यलाई खुसी बनाउन, ठूलाबडाको आशीर्वाद लिन वा कुनै अल्झेको काम सफल बनाउन नेपालगन्जीयाले राबडीको कोशेली दिने चलन छ । नेपालगन्जको राबडी काठमाडौँ लगायत देशका ठूला सहर र चारतारे होटलका भान्सामा समेत पुग्छ । नेपालगन्जलाई चाट र राबडीको सहरका रुपमा पनि लिइन्छ । नेपालगन्ज आउने जो कोही राबडीको स्वाद लिएर मात्र फर्किन्छन् । एकपटक स्वाद चाखेपछि अर्कोपल्ट नखाएर सुख पाइँदैन । त्यसैले नेपालगन्ज आउने अधिकांश पाहुना राबडी खान त्रिभुवन चोक पुग्छन् । मिठो स्वाद र स्वास्थ्यका लागि फाइदाजनक भएकोले दोस्रो पटक आउँदा होस् वा कोही नेपालगन्ज आउँदा त्रिभुवन चोकको राबडी खान सिफारिस गर्छन् र लिएर आउन आग्रह गर्दछन् ।

नेपालगन्जका आशिष गुप्ता भन्छन्, ‘पहिलो पटक नेपालगन्ज आएको मान्छे त्रिभुवन चोक अवश्य जान्छ र फेरि नेपालगन्ज आउँदा राबडीको स्वाद लिन पटक–पटक जान्छन् ।’ दूधलाई दुई घण्टासम्म उमालेर राबडी तयारी गरिन्छ । दुधलाई ठोस बनाउन कराईमा दुई–तीन घण्टा उम्माल्नु पर्छ । १० लिटर दुधको कम्तीमा तीन किलो राबडी तयार हुन्छ । दुधको गुणस्तरीयता हेरेर राबडी तयार हुने गरेको नेपालगन्जको त्रिभुवन चोकस्थित शिव मिष्ठान भण्डारका प्रोप्राइटर ऋषि गुप्ताले बताए । राबडी प्रतिष्ठित व्यक्तिलाई कोशेली दिने चलन पनि बढेको छ । काठमाडौँका प्रतिष्ठित व्यक्तिलाई भेट्न जाँदा नेपालगन्जीयाले कोशेलीको रुपमा राबडी लिएर जाने गर्छन् । राबडी लिएर जाँदा काठमाडौँका प्रतिष्ठित ब्यक्तिहरु खुसी हुने भएकोले अधिकांशले कोशेलीको रुपमा यहि लैजाने गरेका छन् ।

नेपालगन्ज आएपछि वा यो बाटो ओहोरदोर गर्दा होस् राप्रपाका अध्यक्ष कमल थापा नेपालगन्जको रावडी खाएरै छाड्छन् । राप्रपाका युवा नेता ऋषीराज देवकोटा कोशेलीका रुपमा रावडी दिनेगरेको बताउँछन् ।

चाट

चाट पनि नेपालगन्जका प्रख्यात परिकारमध्येमा पर्दछ । नेपालगन्जका अधिकांश चोक र गल्लीहरुमा ठेला तथा सटरका भवनमा चाट विक्रीका लागि राखिएका हुन्छन् ।
चाट खानेमा धेरैजसो महिला हुन्छन् । तै पनि बाहिरबाट आएकाले समेत नेपालगन्जको चाटको स्वाद लिन पछाडी पर्दैनन् । नेपालगन्जमा धेरैथरीका चाटको स्वाद लिन सकिन्छ । उमालेको आलुबाट चाट बनाइन्छ । उमालेको आलुको बोक्रा फालेर अदुवा, हरियो खुर्सानी, सूजी, सुकेको खुर्सानीको धुलो, जीराको पाउडर, चाट मसाला पाउडर, हरियो धनिया, अमचूर पाउडर र नुन हालेर आलुको चाट बनाइन्छ । बोक्रा फालेको थोरै आलुलाई हातमा लिएर चेप्टो बनाएर टिकिया बनाइन्छ । चाट बनाउन प्रयोग हुने तावामा एक चम्चा तेल हालेर तातो बनाउनु पर्छ । टिकियाको दुवैतर्फ खैरो बनाउनु पर्छ । त्यसपछि ग्राहकको माग अनुसार आलुको टिकिया तावामा राखेर फाटेको दही, खजुर, इमलीको चटनी, रातो खुर्सानीको धुलो र नुन हालेर चाट तयार गरिन्छ । ग्राहकको माग अनुसार, चाट खट्टो र मिठो बनाइन्छ ।

पानीपुरी

नेपालगन्जको परिकारमध्ये अधिकांशको रोजाइमा पानी पुरी पनि एक प्रमुख परिकार हो । चाटको पसल वा चाट बेच्न राखिएको ठाँउमा पानीपुरी सहजै पाउन सकिन्छ । मानौ चाट खान गएकाले पानी पुरी अवस्य खान्छन् । र पानीपुरी खान गएकाले चाट अवस्य खानेगर्छन । यी एकअर्काका परिपुरक जस्तै भएका छन् ।

गहुँका साना–साना पुरी बनाएर त्यसमा खट्टो, पिरो पानी हालेर पानीपुरी बनाइन्छ । पुरीमा चना वा केराउ हालेर मिठो बनाइन्छ । एउटा व्यक्तिले कम्तीमा १० वटा पानीपुरी खाने गर्दछन् । खट्टो, पिरो मन पराउनेका लागि पानीपुरी अति उत्तम परिकार मानिन्छ । नेपालगन्जको त्रिभुवन चोक आसपासमा पानीपुरीको ब्यापार हुने गरेको छ ।

हलुवा–पराठा

नेपालगन्ज आउँदा खान छुटाउन नहुने परिकार हो हलुवा पराठा । हलुवा पराठा नेपालगन्जलाई चिनाउने परिकार हो । नेपालगन्जमा आउनेहरुले हलुवा पराठको स्वाद लिन नेपालगन्जको चौलिक्का चोक जाने गरेका छन् । बिगत ३३ वर्षदेखि हलुवा, पराठा बिक्रि गर्दै आएका जलिल अहमदले दैनिक १२–१५ किलो हलुवा र पराठा बिक्री गर्दै आएको बताए । बिहान महेन्द्र बहुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा आवतजावत गर्ने बटुवा हुन् । उनको हलुवा पराठा नचाखेका कमै होलान । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्न नपरेको बताए ।

‘बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै छन्,’ उनले भने । हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केहि वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । शहरको अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ । ब्यापारीले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन् ।

चनापुरी

नेपालगन्जमा अधिक बिक्री हुने परिकारमध्ये चना, पुरी पनि एक हो । यो परिकार सबैभन्दा धेरै विहानको समयमा विक्री हुन्छ । त्रिभुवन चोकमा पुगेपछि चना, पुरी खानुको मज्जा नै बेग्लै हुन्छ । ठेलामा राखेर ब्यापार भए पनि चना, पुरीको ब्यापारबाट मनग्य आम्दानी हुने गरेको ब्यापारी बताउँछन् । कामकाजी ब्यक्ति हुन वा स्थानीयबासी उनीहरुका लागि चनापुरी विहानको खाजा नै बनिसकेकोछ । अझ कतिपयले त विहान चनापुरी खाएपछि खाना नै खानुनपर्ने बताँउछन् ।

लस्सी

नेपालको सबैभन्दा गर्मी हुने शहरमा पर्दछ नेपालगन्ज । त्यसैले गर्मीयाममा यहाँ लस्सीको राम्रो व्यापार हुन्छ । यो खासगरी दहीबाट लसी बनाइन्छ । तर, उखुको जुसबाट पनि लस्सी बनाउने गरिएको छ । नेपालगन्जका विभिन्न स्थानमा लस्सीको ब्यापार भए पनि त्रिभुवन चोकको लस्सी विशेष मानिन्छ । काम र घुमफिरका लागि नेपालगन्ज आउनेहरू लस्सीको स्वाद लिएर मात्र फर्किने गर्दछन् ।

घमन्जा

विभिन्नथरीका परिकारमध्ये नेपालगन्जको अर्को विशेष परिकार हो घमन्जा । गरिब, निम्न वर्ग र मजदुर वर्गमा यो परिकार लोकप्रिय छ । थोरै पैसामा पेटभरी खान पाइने भएकोले अधिकांश मजदुर र निम्न वर्गले घमन्जा खाने गरेका छन् । ब्रेडको टिकिया, भेडे खुर्सानी, आलु, केराउको तरकारी, काउलीको टिकिया लगायतका परिकार एउटै ठाउँमा राखेर खान दिइन्छ ।

ढिक्री र घुँगी

विभिन्न जातजातिको बसोबास हुन थालेपछि नेपालगन्जमा अन्य समुदायका परिकार पनि भित्रिन थालेका छन् । नेपालगन्जमा पछिल्लो समय थारू जातिको प्रचलित तथा मुख्य परिकार ढिक्री, आलुको कचालु, सिध्रा माछा र घुँगीको परिकार पनि थपिएको छ । थारू जातिका सोमप्रसाद चौधरीले नेपालगन्जको कारकाँदोमा गोचाली खाजा घर सञ्चालनमा ल्याएर ग्राहकलाई यी परिकार पस्कने गरेका छन् । थारूमा मात्र सीमित रहेको ढिक्री र घुँगी पछिल्लो समय गैरथारूमा पनि लोकप्रिय भएको छ ।

मटका चिया

नेपालगन्जको विशेषतामा मटका चियाले आफ्नो स्थान लिएकोछ । नेपालगन्ज आएका पाहुनालाई मटका चिया खाउँ भन्दा आश्चर्य पर्छन् । नामनै सुन्दा कौतुहुलता लाग्ने मटका चियाले पनि आफ्नो राज जमाइरहेकोछ । केही समय अघि त्रिभुवनचोक र सदरलाईनमा पाइने मटका चिया अहिले विपी चोक नजिक मयंक पेट्रोल पम्मको छेउमा पाइने गर्छ । सामान्य चिया तर माटोको ग्लासजस्तो भाडो(मट्का स्थानीय भाषामा)मा राखेर खाइन्छ । यसले पनि आफ्नो लोकप्रियता जमाउदै गएकोछ ।