नेपालगन्जको वडा नम्बर ३ र ७ मा घर बीमा कार्यक्रम कार्यान्वयन


सेतोखरी सेतोखरी   आइतबार, असार १६, २०८१
नेपालगन्जको वडा नम्बर ३ र ७ मा घर बीमा कार्यक्रम कार्यान्वयन

नेपालगन्ज १६ असार : विपद् जोखिमपूर्ण रहेका नेपालगन्ज उपमहानगरपालिकाका २ वटा वडामा घर बीमा कार्यक्रम कार्यान्वयनमा ल्याइएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ र ७ वडामा उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो ।

आवासीय भवन तथा त्यस भवनभित्र रहेका चल–अचल सम्पत्तिको भविष्यमा हुनसक्ने क्षति विरुद्ध गरिने आर्थिक सुरक्षाको उपाय तथा औजारलाई घर बीमा भनिन्छ । नेपालमा २०७५ पुसबाट व्यवस्थित रुपमा घर बीमा लागू गरिएको हो । यो अवधारणा स्थानीय सरकार अन्र्तगत नेपालमै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकाले कार्यान्वयन ल्याएको छ ।

विपद् जोखिमसम्बन्धी कार्यविधि–२०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले विपदको शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताए । 

Kanti Aarogya Hospital Nepalgunj

उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए ।

यो पनि पढ्नुहोस् नेपालगन्जमा ४ लाख ६६ हजार लिटर क्षमताका तीन वटा पानी भण्डारण केन्द्र स्थापना

संयोजक सिंहका अनुसार विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घरको बीमा गरिनेछ । जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने जनाइएको छ । 

उनले त्यसका लागि झण्डै तीन सय घरधुरी सर्भेक्षण गरिसकिएको उल्लेख गरे । उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गरिदिने र १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ । 

१५ लाखको बीमा गर्दा पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग–अलग बीमा हुने जानकारी दिए ।

नेपालगन्जका वडा नम्बर–३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।
त्यसैको पहलमा सो काम भइरहेको हो । सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको वडा नम्बर–३ र ७ मा भवनको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती भएकाले घर जीर्ण भएकाले त्यहीँबाट काम अगाडि बढाइएको बताए ।

यसअघि उक्त वडामा आगलागी सम्बन्धि हुन सक्ने विपद् जोखिम न्यूनिकरणका लागि भन्दै सुपर परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरपालिका–७ मा चार हजार लिटर क्षमताको पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । आगलागीका घटना नियन्त्रणका लागि सहज रूपमा पानीको स्रोत उपलब्ध नहुने भएपछि उक्त पानी भण्डारण केन्द्र स्थापना गरिएको हो ।