नेपालगन्जमा ४ लाख ६६ हजार लिटर क्षमताका तीन वटा पानी भण्डारण केन्द्र स्थापना


सेतोखरी सेतोखरी   सोमबार, जेठ २८, २०८१
नेपालगन्जमा ४ लाख ६६ हजार लिटर क्षमताका तीन वटा पानी भण्डारण केन्द्र स्थापना

नेपालगन्ज २८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाभित्र ४ लाख ६६ हजार लिटर क्षमताका तीन वटा पानी भण्डारण केन्द्र स्थापना गरिएका छन् । आगलागीका घटना नियन्त्रणका लागि सहज रूपमा पानीको स्रोत उपलब्ध नहुने भएपछि नेपालगन्जमा तीन वटा पानी भण्डारण केन्द्र स्थापना गरिएका हुन् ।

नेपालगन्ज सहर विकास, विस्तार र बाक्लिने क्रमसँगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्याङ्कले देखाएको छ । आगलागीका घटना बढ्न थालेसँगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगन्जमा अहिले सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरिएको छ ।  

नेपालगन्जमा दमकल (वारुणयन्त्र) लाई चाहिने पानीको स्रोतको व्यवस्थापनका लागि तीन वटा पानी भण्डारण केन्द्र स्थापना गरिएको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्  विपद् तथा भूकम्पीय पूर्वतयारीका लागि नेपालगन्जका परम्परागत इनार संरक्षण गरिदैँ

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

उनका अनुसार यी तीन वटा पानी भण्डारण केन्द्रको क्षमता ४ लाख ६६ हजार लिटर रहेकोछ । गुरुद्वाराअगाडि नेपालगन्जको खानेपानी संस्थान कार्यालयको खानेपानीको मुख्य लाइनमा चार लाख ५० हजार लिटर, वारुणयन्त्र कार्यालयपरिसरमा १२ हजार लिटर र नेपालगन्ज उपमहानगरपालिका–७ मा चार हजार लिटर क्षमताको पानी भण्डारण केन्द्र स्थापना गरिएको बताए ।

नेपालगन्ज उपमहानगर वारुणयन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले उपमहानगरमा तीन वटा पानी भण्डारण केन्द्र स्थापना भएपछि आगलागीका बेला पानीको समस्या केही हदसम्म समाधान भएको बताए । दमकल प्रवेश गर्न नसक्ने साना गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राई फायर हाइड्रेन्ड’ विधि विकास गरिएको छ ।

यो विधिले इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीबाट बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका–७ मा इनार संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ । 

आगलागी भएको बेला दमकललाई चाहिने पानी खानेपानी कार्यालयबाट पनि प्रत्यक्ष रूपमा जतिबेला पनि भर्न सक्ने व्यवस्था गरिएको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।