नेपागन्जः डेङ्गु रोग बाँके लगायत देशभरका विभिन्न जिल्लामा प्रकोपका रुपमा फैलिरहेको छ । डेंगुको बारेमा पहिलो पटक सन् १७८० मा वर्णन भएको पाइन्छ ।
यो रोग दोस्रो विश्वयुद्घको समयदेखि विश्वमा समस्याका रुपमा आएको हो । सन् १९५० मा फिलिपिन्स र थाइल्यान्डमा यसको माहामारी भएको थियो । यसको भाइरस सविन भन्ने व्यक्तिले १९४४ मा पत्ता लगाएका हुन् । हाल विश्वभरि अर्थोपोडाबाट सर्ने रोगहरुमा डेंगु भाइरसको संक्रमण सबैभन्दा बढी देखिन्छ ।
वर्तमान समयमा डेंगुले विश्वका १ सय २५ भन्दा बढी देशमा रहेका मानिसमा संक्रमण गरेको देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालका दशकमा विश्वमा यसको विस्तार नाटकीय रुपमा भएको छ ।
संसारभरका आधा जति जनसंख्या डेंगुको जोखिममा रहेका छन् । यो रोगबाट संक्रमितहरुमध्ये ठूलो संख्यामा लक्षण नदेखिई निको हुने हुँदा वास्तविक संक्रमण भएका मानिसको कम मात्र प्रतिवेदन हुन्छ ।
डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।
अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । डेंगु रोग लागेमा विरामीले अपनाउनुपर्ने उपाय यसप्रकार छ ।
–डेंगुका बिरामीले चिसो पानी, मैदाजन्य खानेकुरा तथा बासी खानेकुरा खानु हुँदैन ।
–खानेकुराहरूमा बेसार, ज्वानो, अदुवा एवं हिङ बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।
–डेंगुको लक्षण देखिए हरियो पातयुक्त तरकारी, कर्कलो तथा काउली खानु हुँदैन ।
–हल्का तथा सजिलैसँग पच्ने खाना खानुपर्छ ।
–राम्रोसँग पूरा निद्रा सुत्नुपर्छ ।
–सकेसम्म धेरै र उमालेर चिसो पारिएको पानी पिउनुपर्छ ।
–चिल्लो, पिरो, तारेको तथा मसलायुक्त खाना खानु हुँदैन ।