नेपालगन्ज : ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाई अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको किटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर, सक्रिय क्षयरोगको किटाणुले क्षयरोग लाग्ने गरेको चिकित्सक बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका एक सयमध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छौँ । रोग छैन भन्ने अवस्था रहँदैन ।
चिकित्सकका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । छातिरोग विशेषज्ञ चिकित्सक सरोज ढुगानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् ।
यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सक्रमित हुनसक्छ ।
बाँकेमा अहिले पनि एक हजारबढी क्षयरोगका विरामी छन् । जसमा २८ जनाले कडाखालको औषधि सेवन गर्दै आएका छन् । सबैखाले औषधि सेवन गर्नेको संख्या आठ सय बढी देखिएको छ । यसले पनि क्षयरोग मानव बमका रूपमा पहिचान बनाउँदै गएको छ ।
लगानी धेरै उपलब्धि कम
नेपालमा क्षयरोग निवारणका कार्यक्रम शुरु भएको ६१ वर्षभन्दा बढी अवधि पूरा भइसक्यो । तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकिरहेको छैन । स्वास्थ्य मन्त्रालयसित क्षयरोग निवारणका लागि सरकारी तथा दातृ निकायबाट कति पैसा खर्च भयो भन्ने कुनै तथ्यांक नै छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । केन्द्रले गत आवमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौँ नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ ।
क्षयरोगको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लागाई उपचारमा ल्याउनु स्वास्थ्य मन्त्रालयलाई प्रमुख चुनौती बनेको छ । केन्द्रका निर्देशक चिकित्सक सागरकुमार राजभण्डारीका अनुसार अहिले स्थानीय निकायबाट क्षयरोगका बिरामीको तथ्यांक उपलब्ध हुनसकेको छैन ।
क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक १५ करोडभन्दा बढी रकम खर्च हुने गरेको केन्द्रको रकेडमा छ ।
क्षयरोग संक्रमितमध्ये ६४ प्रतिशत पुरूष र ३६ प्रतिशत महिला रहेका छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख १ सय १२ रहेको छ । केन्द्रका अनुसार गत आव २०७४÷७५ मा एक लाख ९६ हजार ३६३ मा क्षयरोगको आशङ्का गरिएको थियो । तीमध्ये खकार परीक्षण गर्दा ३२ हजार ४ सय ७४ मात्र उपचारको पहुँचमा आएका थिए । नयाँ क्षयरोगीका १३ हजार बिरामी पत्ता लगाई उपचारको पहुँचमा ल्याउन सकिएको छैन ।
मापदण्ड विपरित उपचार
कूल क्षयरोगीमध्ये १५ देखि २० प्रतिशतसम्म निजी क्षेत्रका अस्पतालमा सेवा लिन जान्छन् । तर, निजी क्षेत्रले उपचार गरेका ती बिरामीको तथ्यांक सरकारलाई दिँदैनन् । केन्द्रका प्रमुख सर्भिलेन्स अधिकृत अनिल थापा भने ‘निजी अस्पतालले क्षयरोगको उपचार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गर्दैनन् ।’
जनस्वास्थ्य ऐन, २०७५ मा निजी अस्पतालले क्षयरोगका बिरामीको अनिवार्य तथ्यांक स्वास्थ्य मन्त्रालयलाई दिनुपर्ने प्रावधान रहेको छ । ऐनका आधारमा क्षयरोग अनिवार्य रूपमा प्रतिवेदन गर्नुपर्ने रोगको सूचीमा सूचीकृत गर्ने तयारी मन्त्रालयले अगाडि बढाएको छ ।
अहिले मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत चार हजार ३ सय २३ उपचार केन्द्रबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी विधि (डट्स) उपचार सेवा, क्षयरोग पत्ता लगाउन खकार परीक्षण गर्न ६ सय ४ प्रयोगशाला, ५६ जीन एक्सपर्ट केन्द्र सञ्चालन गरिराखेको छ ।