परिपक्क विवाहः

सामाजिक रुपान्तरणको अर्को पाटो


परिपक्क विवाहः

 
अभिनेता राजेश हमालले केही बर्षयता एउटा प्रश्नबाट उन्मुक्ति पाएका छन् । प्रश्न हो, ‘विवाह कहिले गर्नुहुन्छ ?’ यो प्रश्न उनले कति पटक झेले होलान् ? गनिसाध्य नहोला । उनीमाथि यो प्रश्न खनिनुको कारण चाहि के थियो भने, उनी लामो समय अविवाहित रहे ।

विवाह गर्नु वा नगर्नु नितान्त व्यक्तिगत कुरा हो । व्यक्तिगत अधिकार र स्वतन्त्रताको कुरा हो । व्यक्तिगत विचार र आवश्यक्ताको कुरा हो । यद्यपी जब उमेर बढ्दै जान्छ, हामी भन्न थाल्छौं, ‘अब त विवाह गर्ने बेला भएन र ?’

विवाह एक सामाजिक परम्परा हो । समाजले नै निर्धारण गरेको छ, विवाहको तौरतरिका र उमेर-अवधी पनि । जब उमेरले २० बर्ष पार गर्छ, तब हरेकजसोले यो प्रश् नझेल्छन् कि ‘विवाह कहिले गर्ने ?’

२० बर्ष पारी शारीरिक परिपक्कता

विवाहको उपयुक्त उमेर वा अवधी के होला ? यसको पनि मानक बनाएका छौं हामीले । अक्सर २२ बर्ष देखि ३०-३२ बर्षको अवधीमा विवाह गरिसक्नुपर्छ भन्ने मान्यता छ । हाम्रो पूर्विय संस्कारले पनि विवाहको लागि योग्य उमेर बताइदिएको छ । यस हिसाबले २२ वा २५ बर्षपछिको समय विवाहको लागि उपयुक्त हो ।

उपयुक्त मात्र होइन, यो विवाह गर्नैपर्ने उमेर पनि हो । किनभने धेरै उमेर ढल्कियो भने दाम्पत्य जीवनमा तालमेल मिलाउन गाह्रो हुन्छ वा पारिवारिक जीवन मिल्दैन भन्ने बुझाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

बालविवाहः कर्म फत्ते गर्ने हतारो

जबकी सानो उमेरमा गरिने विवाहलाई वर्तमान समाजले अस्विकार गर्न थालेको छ । कुनैबखत भने कलिलो उमेरमा विवाह गरिदिने प्रचलन थियो । विवाह र दाम्पत्य नबुझ्दै छोराछोरीको जोडी बाँधिदिने परम्परा पाखा लागेको धेरै भएको छैन । अझैपनि कतिपय समाजमा बालविवाहको प्रचलन छ, भलै कानुनी रुपले त्यसलाई स्विकार नगरे पनि ।

हाम्रा पिता-पूर्खाहरुसँग बालविवाहको अनेक किस्सा छन् । उनीहरुले पनि देख्दै नदेखेको, थाहै नपाएको अवस्थामा विवाह गरेको अनुभव सुनाउँछन् । कलिलो उमेरमा विवाह गरिदिएपछि छोराछोरीका लागि गरिदिनुपर्ने कर्मबाट उन्मुक्ती पाइन्छ भन्ने त्यसबेलाको धारणा थियो । अर्थात छोराछोरीको विवाह गराइदिनुलाई आफ्नो कर्म मान्ने सोंचले गर्दा त्यसबेला कलिलै उमेरमा छोराछोरीको विवाह गरेर आफ्नो जिम्मेवारी पुरा गर्न हतारिन्थे ।

कलिलो उमेरमा विवाह गराइदिएर आमाबुवाले त उन्मुक्ति पाउथे होलान्, तर छोराछोरी त्यसका निम्ति मानसिक एवं शारीरिक रुपमा तयार र सक्षम हुँदैनथे । त्यसैले पछि विवाहको उमेर निश्चित गरियो र भन्न थालियो, विस बर्ष पारी, विहेवारी ।

उमेरले २० बर्ष पुरा गरिसकेपछि मात्र कुनैपनि महिला वा पुरुष विवाहको लागि योग्य हुन्छ भन्ने मान्यता अन्र्तगत यसो भनिएको थियो ।

परिपक्क विवाह

२० बर्षपछि एक मानिस शारीरिक रुपले परिपक्क हुन्छन्, खासगरी यौन र प्रजननका लागि । विवाह गरेपछि यौन स्वतः जोडिएर आउँछ । गर्भधारण गर्ने, बच्चा जन्माउने प्रक्रिया पनि यससँगै जोडिन्छ । त्यसैले विवाह त्यस उमेरमा गर्नुपर्छ, जतिबेला यौन एवं प्रजनन हिसाबले पनि परिपक्क हुनुपर्छ ।

त्यसो त विवाहपछि शारीरिक परिपक्कता मात्र हेरेर पुग्दैन । विवाहपछि पारिवारिक दायित्व पनि बढ्छ । भौतिक आवश्यक्ताहरु बढ्छन् । त्यसैले त यी सबै कुरामा आफु निर्भर भइसकेपछि मात्र विवाह गर्न उपयुक्त मानिन्छ ।

अहिले यही धारणाको कारण विवाहको उमेर लम्बिदै गएको छ । त्यसैले त जब विवाहको प्रसंग आउँछ । तब भन्न थालिएको छ, ‘आफ्नो खुट्टामा उभिने नभई, विवाह गर्नु हुँदैन ।’

यसबाट के बुझिन्छ भने आत्मनिर्भर भइसकेपछि मात्र वा पारिवारिक दायित्व लिन सक्ने भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने धारणा विकास भएको छ । यससँगै परिवारप्रतिको जिम्मेवारी एवं उत्तरदायित्व पनि बढेको गएको अनुभव गर्न सकिन्छ । विवाह गरेपछि दम्पतीको आवश्यक्ताहरु बढ्छन् । चाहना बढ्छन् । आकंक्षा बढ्छन् । ति सबै कुराको व्यवस्थापन गर्न सक्षम भएपछि मात्र विवाह गर्नुपर्छ, जसले गर्दा दाम्पत्य सुखमा कुनै अभाव अनुभव गर्न नपरोस् ।

हालै एक सर्वेक्षण पनि भएको रहेछ, यसै सन्दर्भमा । सर्वेक्षणबाट के पाइयो भने, धेरैजसो शहरी युवती विवाहका लागि हतार गर्न चाहँदैनन् । उनीहरु कलिलै उमेरमा वा अपरिपक्क अवस्थामा विवाह गर्न चाहँदैनन् । अभिभावकले उनीहरुको विवाहका लागि दबाव दिएपछि उनीहरु भने विवहका लागि हतार गरेको पाइदैन ।

उमेरका हिसाबले, मानसिकताका हिसाबले, भौतिक साधनका हिसाबले परिपूर्ण वा परिपक्क भइसकेपछि मात्र विवाह गर्नुपर्छ भन्ने जमात बढ्दो छ । यसले गर्दा विवाह केवल एक परम्पराको निरन्तता मात्र होइन, जीवनको अहंम हिस्सा हो भन्ने मान्यता पनि विकास भएको बुझ्न सकिन्छ । विवाह पछि आइपर्ने पारिवारिक दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने धारणा विकास भएको छ । साथसाथै पारिवारिक जीवन सुखमय र सफल हुनुपर्छ भन्ने बुझाई पनि छ ।

विगतमा भने विवाहलाई एउटा परम्पराको रुपमा मात्र बुझिदै अएको थियो । विवाह गरिदिएपछि छोराछोरीका लागि गरिने कर्मबाट मुक्त पाइन्छ भन्ने ठान्थे आमाबुवाहरु । छोराछोरी चाहि यसलाई एक परम्परा ठानेर चुपचाप स्विकार्थे । त्यही कारण उनीहरु विवाहपछि आइलाग्ने कतिपय समस्या, अभाव, अप्ठ्याराहरुसँग जुध्न सक्दैनथे । वैवाहिक जीवनमा कतिपनि रोमाञ्चकता, मिठास हुँदैनथ्यो । विवाह केवल परिवारका लागि र सन्तान उत्पादनका लागि भन्ने बुझाई थियो ।

अहिले भने विवाहको अर्थ दाम्पत्य सुखसँग जोडिएको छ । दाम्पत्य जीवन सुखमय, उल्लासमय र अर्थपूर्ण हुनुपर्छ भन्ने मान्यताकै कारण परिपक्क उमेरमा मात्र विवाह गर्ने प्रचलन बढ्दो छ ।

यसको अर्को पनि पाटो छ । विवाहलाई हामीले बन्धन भन्ने गरेका छौं । विवाह एक पारिवारिक बन्धन हो । विवाहपछि आइपर्ने यावत् जिम्मेवारी पुरा गर्दागर्दै आफैलाई पनि बिर्सन सकिन्छ । आफ्नो जीवन, आफ्नो खुसी सबैकुरा साझेदार गर्नुपर्ने हुन्छ । हरेक कुरामा आफ्नो सर्त लागु हुँदैन । आफ्ना अपेक्षाहरु पुरा हुँदैनन् । कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुन्छ ।

त्यसैले स्वतन्त्रपूर्वक र आफ्नै मर्जी अनुसार जिउनका लागि पनि विवाहको उमेर लामो बनाउने गरिएको पाइन्छ । विवाहपछि पारिवारिक जीवनमा प्रवेश गर्नुपर्ने भएकाले विवाह नगर्दै मनलाग्दो ढंगले जीवन जिउनुपर्छ भन्ने मान्यता धेरैको हुन्छ । उनीहरु विवाह गर्न हतार गर्दैनन् ।