नर्सिङ्ग पेशालाई मर्यादित बनाऔं !


नर्सिङ्ग पेशालाई मर्यादित बनाऔं !

गीता शाही, नर्स

आज मे १२ अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितका कारण यसवर्ष नर्सिङ्ग दिवस केन्द्रित कार्यक्रम हुन सकेन । विश्व नै कोरोना महामारीको चपेटामा परेका बेला नर्सिङ दिवसले खासै महत्व पाएन । अन्य वर्ष झैं यसवर्ष नर्सिङ्ग दिवसका अवसरमा औपचारिक कार्यक्रम भएनन् ।

दुई सय वर्षअघि जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेलले गरेका काम र उनले अपनाएका सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छन् । त्यो वेलाको कठिन परिस्थितीमा पनि नर्सिङ्ग पेशालाई जिवन्त र उदाहरणीय बनाउने कार्य नभइदिएको भए आज स्वास्थ्य क्षेत्रमा नर्सिङ्ग पेशा हुनेथियो भनेर सोच्न सकिदैन ।

१८२० मे १२ तारिख समस्त नर्सिङ पेशाकी प्रतिमुर्ति आधुनिक नर्सिङ शिक्षाकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनलाई विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिन्छ ।

विशेषगरि दोस्रो विश्व युद्धमा घाईते भएकाहरुको स्वास्थ्य उपचारका लागि लाल्टिनको सहारामा अहोरात्र खटि घाईतेहरुको सेवामा सर्मपित भएकै कारण फ्लोरेन्सलाई ‘लेडि विथ द ल्याम्प’को नामले पनि चिनिन्छ । स्वास्थ्य अझ नर्सिङ्ग पेशामा यो नाम अजम्बरी, अमर छ ।
स्वास्थ्य क्षेत्रको मेरुदण्डको रुपमा रहेका नर्सहरुले ब्यक्ति, परिवार र राष्ट्रको स्वास्थ्य स्थितिलाई सुधार्न महत्वपूर्ण भूमिका निभाइरहेका हुन्छन् । सबै बिधा अनि क्षेत्रमा नर्सको उत्तिकै ठूलो हात र योगदान छ ।

Kanti Aarogya Hospital Nepalgunj

समुदायका हरेक ब्यक्तीको स्वास्थ्यसंग प्रत्येक्ष सम्पर्क र चासो राख्ने भनेका नर्सहरु नै हुन् । अस्पतालको सैयामा छट्पटाइरहेका हजारौं बिरामीको मुखमा मुस्कान अनि पीडा कम गराउन सबैभन्दा ठूलो भूमिका नर्सकै हुन्छ ।

उनको मुस्कान सहितको सेवा भन्दै धेरै वर्ष र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो तर, नर्सका अनुहारमा मुस्कान आउन सकेन । सेवा सुविधामा कमी, हेपाह प्रबृत्ति अनि एक नर्सलाई २०–३० जना बिरामीको भार । जहाँ जर्नल वार्डमा १ जना बराबर ६ जना बिरामी हुनपर्ने हो । नर्स र बिरामीको अनुपात मिल्दैन । अनि कामले च्याप्छ , भोकभोकै लगातार ७–८ घण्टाको डिउटी गर्दा कसरी अनुहारमा मुस्कान आउन सक्छ । त्यही पनि हामी हाँसी–हाँसी सेवा दिन कोसिस गर्छाैं ।

नेपाली नर्सहरुले नेपालको भौगोलिक, सामाजिक र शैक्षिक विषमताको बाबजुद पनि हजारौं जीवन बचाएका उदाहरण छन् । र, लाखौंलाई नयाँ जीवन दिएको हामीमाझ प्रष्ट छ । नेपालको स्वास्थ्य सेवा प्रणालीमा नर्सहरु मुख्य हिरोको रुपमा रहेका छन् । यो सवैले बुझ्न जरुरी छ । उनीहरुको ज्ञान, सीप र निर्णय क्षमताले स्वास्थ्य सेवाको गुणस्तर निर्धारण गर्छ । उनीहरु अन्य स्वास्थ्यकर्मीहरु जस्तै प्रतिकारात्मक र उपचारात्मक सेवामा जिम्मेवार र जवाफदेही छन् ।

नेपालमा नर्सिङको ईतिहासलाई हेर्ने हो भने नेतृत्व केही परम्परागत नै देखिन्छ । प्रायः नेतृत्व गर्नेले नयाँ योजना र कार्यविधि ल्याउनुको सट्टा परम्परा धानेको मात्र हामीले अनुभव गरेका छौं । तर, संख्यात्मक रुपमा कम भए पनि केही नेतृत्वकर्ताले नर्सिङ क्षेत्रमा नयाँ आयाम थपेका छन् । त्यसलाई हामी सवैले स्वीकार्नुपर्छ ।

नेपाल नर्सिङ परिषद्मा ९५ हजार भन्दा बढी नर्स दर्ता छन् । महाशाखाका अनुसार ३३ हजार ७ सय २४ अनमीले नर्सिङ सेवा प्रदान गरिरहेका छन् । झण्डै २ सय ६० संस्थाहरुले नर्सिङ अध्यापन गराउँदै आएको महाशाखाले जनाएको छ ।

देश संघीयतामा गएसगैं समुदायमा रहेका सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थ पोस्ट तथा पालिका तहमा पनि नर्सहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

धेरैजसो सरकारी अस्पतालमा उल्लेखनीय संख्यामा नर्सहरु भए तापनि डाक्टर र नर्सबीच समन्वय कम भएको देखिन्छ । जसले गर्दा बेलाबेलामा तनाव र असमझदारी उत्पन्न भएका छन् ।

सुगम र ठूला अस्पतालमा बिरामीको चाप उच्च हुने हुनाले पनि यस्तो हुन सक्छ । यस्ता समस्यालाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, नर्सिङ प्रशासक, इन्चार्ज, प्रशासनबीच राम्रो समन्वय र योजना बनाएर कार्य गर्न आवश्यक छ । कहिलेकाहीँ शक्तिको द्वन्द्वले गर्दा पनि त्यस्तो हुन जान्छ ।

उत्कृष्ट नर्सिङ सेवाका लागि बिरामीहरु अस्पताल आउने गर्छन् । यद्यपी धेरै मानिस नर्सिङ पेसाको दायित्व र महत्वबारे प्रष्ट छैनन । जबकि नर्सहरु स्वास्थ्य सेवा प्रणालीका अग्र पंक्तिमा रहेर योगदान पु¥याउने व्यक्ति हुन् । यदि नर्सिङ क्षेत्रलाई सबल बनाउने हो भने स्वास्थ्य प्रणालीमा धेरै सुधार ल्याउन सकिन्छ, अब्बल अभ्यासहरु पत्ता लगाउन सकिन्छ । साथै श्रम बजारमा नर्सिङ जनशक्तिको सही सदुपयोग गर्न सकिन्छ । अझ हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना जस्ता महामारीहरुको समयमा नर्सिङ सेवा विना उपचार नै अपूर्ण हुनजान्छ ।

केही गुणस्तरहिन कलेजहरुले पनि नर्सिङ पेशालाई आलोचित बनाइरहेका छन् । छोटो समयमा मोटो रकम कुम्ल्याउने रितका कारण वर्षेनी सयौं नर्सको भविष्य जोखिममा पारिरहेका छन् । यसले गर्दा पनि सामुहिक रुपमा नर्सिङ पेशा अपहिलित मात्र नभएर नर्सिङ पेशा कमाई खाने भाँडोको रुपमा रहेको प्रष्ट हुन्छ ।

आगामी दिनमा विशिष्टकृत नर्सिङ्ग सेवाको शुरुवात, मातृ स्वास्थ्यको लागि सामुदायिक नर्स परिचालन, घरमा दिइने स्वास्थ्य सेवाको संस्थागत दर्ता तथा अनुगमन, मितव्ययीताको लागि नसर्ने रोगहरुको कार्यक्रम नर्सको नेतृत्वमा रहने व्यवस्था, नर्सहरुको क्षमता अभिवृद्धिको लागि इ–लर्निङ्ग लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा जनाएको छ । यो नेपाली नर्सका लागि ठूलो उपलब्धीका रुपमा हेरिएकोछ । यद्यपी गुणस्तरीय नर्सिङ सेवाका चुनौतीहरु, नर्सिङ कर्मचारी माथि हुने विभेद जस्ता समस्या समाधानका लागि स्थानीय तहबाटै कटिबद्ध भएर लाग्नुको विकल्प छैन ।

यतिबेला बिश्व कोरोनाको महामारीमा छ । कोरोना संक्रमित विरामीको उपचारका लागि जोखिम मोलेरै भएपनि दिनरात अग्रस्थानमा रहेर काम गर्ने हामी नर्सहरुलाई हौसला, साथ र समर्थन गरिनुपर्छ । यसका लागि राज्यले विशेष ध्यान दिनु पर्दछ । नर्स र नर्सिङ्ग क्षेत्रका सबै प्रकारका हिंसाको अन्त्य होस्, हाम्रो पेशालाई आलोचित नपारियोस् ।

नर्सिङ पेशा आफैंमा मर्यादित पेशा हो । प्रत्येक्ष आमनागरिकको स्वास्थ्यसगं सरोकार राख्दछ । कोरोना भाइरस जस्तो महामारीमा अहोरात्र खट्ने तथा कोरोना भाइरसकै कारण आफ्नो ज्यान गुमाउने विश्वभरका सवै नर्सप्रति हार्दिक नमन तथा श्रद्धासुमन । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा सवैमा शुभकामना ।

शाही नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत छिन् ।