घरघरमा छैन शुद्ध पानी

निरिह खानेपानी संस्थान


घरघरमा छैन शुद्ध पानी

नेपालगन्ज: दशक यता जनघनत्व ह्वात्तै बढेको छ । बर्षेनी अनगिन्ती रुपमा घरहरु बन्ने क्रम जारी छ । सरकारी पुर्वाधारको रुपमा रहेको सडक, टेलिफोन र बिजुली बत्ती लगभग पुगिसकेको छ । नगरपालिकाबाट उपमहानगरपालिका पनि भइसक्यो । तर, खानेपानी संस्थान जहाँको त्यहिँ छ । खानेपानीका पाइपलाईन दशक अघि जहाँसम्म थिए, अहिले पनि त्यति नै छन् । वर्षै पिच्छे सबै कुरा विस्तार भयो तर नेपालगन्जका नागरिकका घर–घरमा शुद्ध पिउने पानीका धारा विस्तार हुन सकेनन् ।

दशकसम्म पहिलेको नगरपालिका तथा हालको उपमहानगरपालिका पनि नेपालगन्जबासीको स्वास्थ्यप्रति गम्भीर भएको देखिदैन । नेपालगन्जमा कति नागरिकले खानेपानी संस्थानको शुद्ध पिउने पानी पिउन पाईरहेका होलान त ? तथ्यांक हेर्ने हो भने सबै जिब्रो टोक्नुहुन्छ । नेपालगन्ज उपमहानगरपालिकामा करिब ५ लाख जनसंख्या छ । खानेपानी संस्थानमा रहेको कागजी तथ्यांक अनुसार, ५ हजार उपभोक्तको घरमा खानेपानी संस्थानको पानी पुगेको छ । तर यसमध्ये पनि दशक अघि जडान गरिएका धारा बिग्रीएर, लिकेज भएर, बील भुक्तानी नगरेर धारा बन्द रहेकोले यसको संख्या घटेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को कारकाँदो क्षेत्रमा बढेको जनघनत्व अनुसार खानेपानी संस्थानले आफ्नो सेवा विस्तार नगर्दा उपभोक्ताहरु दुषित एवम् महंगो मूल्य तिरेर पानी पिउन बाध्य छन् । खानेपानी संस्थानले शुद्ध पिउने पानी पु¥याउन नसक्दा पैसा हुनेहरुले महंगा फिल्टर मेशिन, जार तथा बोतलको पानी महंगो पैसा तिरेर नेपालगन्जवासीले पानी पिइ रहेका छन् भने धेरैजसोले ह्याण्ड पम्प र कुवाको पानी पिउन बाध्यछन् ।

स्थानीय माया लामिछाने भन्छिन्, ‘हामीले यहाँ घर बनाएर बस्न थालेको दुई वर्षजति भयो, अहिलेसम्म आफ्नै हेण्डपम्पको पानीलाई शुद्धिकरण गरेर पिउने गरेका छौं, खानेपानी संस्थानले कहिलेसम्म पानी वितरण गर्ने हो, अत्तोपत्तो छैन ।’ संस्थानले सेवा विस्तारका लागि भन्दै कारकाँदोस्थित भगवती टोलमा गतवर्ष एउटा ओभरहेड ट्यांकी निर्माण गरिसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj


उक्त ट्यांकीको क्षमता चार लाख २५ हजार लिटर रहेको छ । ट्यांकीबाट अहिलेसम्म संस्थानले उपभोक्तालाई पिउने पानी वितरण गर्न नसकेको वडा नम्बर १८ का वडासदस्य दीपक ढुंगाना बताउँछन् । ‘खानेपानी संस्थानले कारकाँदोमा एउटा ट्यांकी निर्माण गरिसकेको छ, खानेपानीको पुर्वाधार बनाउन संस्थानले अझै जग्गा खोजिरहेको रहेछ,’ उनले भने । संस्थानले सेवा विस्तार नगर्दा कारकाँदोका बासिन्दा केहीले हेण्डपम्पको दुषित पानी र कतिपयले हेण्डपम्पकै पानी शुद्धिकरण गरेर पिउने गरेको वडासदस्य ढुंगानाले सुनाए । कारकाँदो क्षेत्रमा अत्यधिक रुपमा जनघनत्व बढेका कारण खानेपानी संस्थानले सेवा विस्तारमा तदारुकता देखाउनुपर्ने उनको सुझाव छ ।

कारकाँदो क्षेत्र त एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा नेपालगन्जका धेरै वडामा नयाँ बस्ती विस्तार भएपनि धेरै जसो ठाउँमा खानेपानी संस्थानको सेवा पुग्न सकेको छैन । नेपालगन्जको तेजनगर, बसपार्क, सुर्जीगाउँ, जिल्ला प्रहरी कार्यालयको दक्षिण क्षेत्र, कोरियनपुर, भृकुटीनगर, बाँकेगाउँ, गोसाईगाउँ, आर्दशनगर, बेलासपुर, फुलटेक्रा, रामनगर, लग्दहवा, भुजईगाउँ लगायत स्थानमा विगत एक दशक यता जनघनत्व ह्वात्तै बढेको छ तर खानेपानी संस्थानले पानी पु¥याएको छैन । नेपालगन्जको पुरानो बजार क्षेत्र बाहेक नयाँ बस्तीमा संस्थानको ‘शुद्ध पानी’ नपुग्दा आम उपभोक्ताको शरिरभित्र दुषित पानीसँगै विभिन्न ब्याक्टेरिया प्रवेश भईरहेका छन् ।

नेपाल सरकारले एक घर, एक धाराको नीति अगाडी सारेपनि नेपालगन्जबासी दुषित पानी पिउन बाध्य छन् । भृकुटीनगर (जनस्वास्थ्य टोल) का रमेश अधिकारीले खानेपानी संस्थानले पानी वितरण गर्न नसकेको गुनासो पोखे । ‘खानेपानी संस्थानले अहिलेसम्म पानी वितरणको लागि कुनै सुरसार गरेको छैन,’ उनले भने ‘हामीहरु हेण्डपम्पकै पानी प्रयोग गरिरहेका छौं, हाम्रो टोलमा धेरै जनाले हेण्डपम्पकै पानी पिउने गरेका छन् ।’ खानेपानी संस्थानले अहिलेसम्म करिव ४ दशक पुरानो पानी ट्यांकीमार्फत नेपालगन्जमा पानी वितरण गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा संस्थानको साढे ४ लाख लिटर क्षमताको एउटा ओभरहेड ट्ंयाकी छ ।

सोही ट्यांकीमार्फत पिउने पानी उपभोक्तालाई वितरण गर्दै आएको संस्थान शाखा कार्यालय नेपालगन्जका प्रशासन शाखा प्रमुख एवम् सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए । उनका अनुसार संस्थानले उक्त ट्यांकीमा नगरका विभिन्न तीन स्थानमा गाडेको डीप ट्युबेलबाट दैनिक रुपमा करिव ३० लाख लिटर पानी तानेर झण्डै ५ हजार उपभोक्तालाई पानी वितरण गरिरहेको छ । ‘कारकाँदोमा एउटा ओभरहेड ट्यांकी निर्माण भईसकेको छ, यसवर्ष २ वटा डीपबोरिङ पनि सञ्चालनमा आउँदैछ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरका नयाँ बस्तीहरुमा संस्थानले चाहेर पनि खानेपानीको पाइप पु¥याउन नसकेको सूचना अधिकारी केसीले सुनाए । ‘नयाँ बस्तीमा पानीको माग धेरै छ, तर पाईप विस्तार गर्न संस्थानसँग बजेट छैन,’ उनले थपे । कारकाँदोमा स्थापना भएको ओभरहेड ट्यांकी सञ्चालनमा आएपछि उपभोक्ताको माग अनुसार पानी पुर्ति गर्न सकिने संस्थानको विश्वास छ । संस्थानले उपलब्ध गराउने पानी शुद्ध भएपनि कतिपय ठाउँमा उपभोक्ताले पाईप जोड्ने ठाउँमा लिकेज हुँदा त्यहाँबाट ब्याक्टेरिया छिर्ने सम्भावना रहेको केसीको भनाई छ ।

केहीवर्ष अघि संस्थानकै पानीमा ‘कोलिफम’ जीवाणु फेला परेको पुष्टी भएको थियो । यस विषयमा उनले भने, ‘हामीले उत्पादन गरेर ट्यांकीमा पु¥याउँदा र छोड्दाखेरी सम्म शतप्रतिशत पानी शुद्ध हुन्छ, तर वितरण पाइपमा उपभोक्ताले जोड्ने ठाउँमा लिकेज हुँदा त्यहाँबाट जीवाणु पस्न सक्छ, त्यसको लागि संस्थानले पानी शुद्धिकरण गर्न विलेचिङ पाउडर हाल्ने गरेको छ ।’ सुर्खेत रोड विस्तार गर्ने क्रममा ठेकेदारले जथाभावी काम गरिदिदाँ संस्थानले पाईप मर्मतमा पटक–पटक झण्झट बेहोर्नु परिरहेको कर्मचारी बताउँछन् ।