नेपालगन्ज ६ पुष ः बाँकेमा कुपोषित बालबालिका बढ्दै गएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले गत वर्ष तौल लिइएका १२ हजार ४ सय ७२ बालबालिकामध्ये १ हजार ११ जना कम तौलका भएका जनाएको छ । कम तौल हुने सबै बालबालिका कुपोषणको शिकार भएका हुन् । बाँकेमा कुनै निकायसँग कुपोषितको यकिन तथ्यांक छैन । पोषणका लागि मात्र बाँकेमा बार्षिक साढे तीन करोड खर्च हँुदै आएको छ । यहाँको डुडुवा गाउँपालिकामा मात्र करिब २५ प्रतिशत कुपोषित बालबालिका भेटिएका छन् । भेरी प्रादेशिक अस्पतालमा ५५ जना बालबालिकाको उपचार भइरहेको छ ।
पोषण कार्यक्रमका नाममा यहाँका पालिकाले बार्षिक करोडौंको रकम खर्चिन्छन् । तर त्यसको प्रगति शून्यप्रायः छ । सरकारी र गैरसरकारी संस्थाले गर्ने पोषण सम्बन्धी कार्यक्रम सदरमुकाम तथा सहर केन्द्रित र ठूला होटलमा हुँदै आएका छन् । झोलामा सीमित गैरसरकारी संस्थाले गरिबको नाममा करोडौं रकम खर्चिएका छन् । अनुगमन कमजोर बन्दा उपलब्धिहीन बजेट खर्च भएको छ । नेपाललाई सन् २०१९ भित्र कुपोषणबाट मुक्त गर्ने योजनासहित करोडौं रकम खर्च गरिएको छ ।
तर, योजना सही नहुँदा कुपोषणको दर बढेको बढ्यै छ । त्यसलाई ढाकछोप गर्न सरकारी र गैरसरकारी संस्थाले तथ्यांक लुकाउने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०१६ को तथ्यांकमा कम तौल भएका बालबालिकाको संख्या प्रदेश ५ मा २७ प्रतिशत छ । केही गैरसरकारी संस्थाको अध्ययनले करिब ८ प्रतिशत बालबालिका कडा खालको कुपोषणबाट पीडित रहेको देखाएको छ । प्रदेशमा सरकारी स्वास्थ्य संस्था र स्थानीय तहले पोषणसम्बन्धी कार्यक्रम गर्दै आएका छन् ।
गैरसरकारी संस्थामा सुआहारा बढी रकम खर्च गर्ने एनजिओमा पर्ने गरेको छ । तर, खर्च अनुसारको प्रतिफल प्राप्तीमा सुआहार पनि सफल देखिदैन् । सु–आहाराले एक हजार दिनका आमा र दुई वर्षमुनिका बालबालिकाको पोषणका लागि रकम खर्चिंदै आएको छ । तर, सुआहाराको प्रगति कागजमा मात्रै सीमित हुने गरेको छ । गत वर्ष जिल्लाका अस्पताल, बर्थिङ सेन्टर र घरमा गरी १८ हजार ४ सय ४५ जना महिला सुत्केरी भएका थिए । हरेक महिलाले औसत एक जना मात्र बच्चा जन्माएको तथ्यलाई आधार मान्दा र कुपोषणको उपचार गराइरहेका बालबालिकाको तथ्यांक विष्लेषण गर्दा २ प्रतिशत बालबालिका कुपोषणको शिकार भइरहेका छन् । भेरी अञ्चल अस्पतालमा ७५ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा १ सय ७३ जना गरी २ सय ३० जना २८ दिनमूनिका बालबालिकाको मृत्यु भएको छ । मृत्युको कारण मध्ये कुपोषण पनि रहेको अस्पतालले जनाएका छन् । गत आर्थिक वर्षमा नेपालगञ्जको भेरी अञ्चल अस्पतालले सञ्चालन गरेको पोषण पुनःस्थापन गृहबाट बाँकेमा मात्र एक सय जना कुपोषित बालबालिकाले उपचार पाएका थिए । भेरी अञ्चल अस्पतालको पुनःस्थापना गृहमा एउटा र जनस्वास्थ्यले १२ स्थानबाट उपचारात्मक खानाको सेवा दिइरहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार ०७४ चैतमा पोषणसम्बन्धी कार्यक्रम लागू भएयता २०७५ असारसम्म २ सय ७९ जना कुपोषण भएका बालबालिका विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका छन् ।
जनस्वास्थ्य कार्यालय बाँकेका पोषण फोकल पर्सन जागेश्वर बस्नेतका अनुसार कुपोषण पहिचान भएका एक जनाको मृत्यु भएको छ । ३७ जना निको भइसकेका
छन् । त्यस्तै उपचारको क्रममा रहेका ६२ जनाले उपचार छाडेका छन् । उपचारको क्रममा रहेका धेरै जनाले बीचैमा उपचार छाड्दा भविष्यमा जटिल समस्या देखिन सक्ने उनले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा १ सय ४३ जना कुपोषणका बिरामीले उपचार लिएकोमा गत आर्थिक वर्ष २०७४÷०७५ मा कुपोषण भएर उपचार गराउन आउने बालबालिकाको संख्या १ सय ९४ जना पुगेको छ । तीमध्ये बालिकाको संख्या १ सय १५ रहेको छ भने ७९ जना बालक छन् । ०६६ पुसमा अस्पताल विकास समितिमा पोषण पुनस्र्थापना गृह हस्तान्तरण भएदेखि हालसम्म विभिन्न जिल्लाबाट कुपोषण लागेर उपचारका लागि एक हजार तीन सय २५ जनाले सेवा लिएको पुनस्र्थापना गृहका फिल्ड सुपरभाईजर दामोदर खनालले बताए ।
यस आर्थिक वर्षको तीन महिनामा ४२ जना उपचारका लागि आएको उनले जानकारी दिए । कुपोषण भएका बिरामीको संख्या बढ्न थालेपछि भेरीले सेवा विस्तारका साथै उपचारका लागि आउने आमाहरुलाई कुपोषणको शिक्षा दिने कार्यक्रम रहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुपानन्द अधिकारीले बताए ।
तथ्यांकअनुसार जिल्लामा बढी कुपोषित बालबालिका भएको स्थानीय तह जानकी, डुडुवा गाउँपालिका भएपनि जिल्लाका सबैजसो स्थानीय तहमा कुपोषित बालबालिका रहेका छन् ।
उमेर अनुसारको तौल र तौल अनुसारको उमेर नहुनुलाई कुपोषणको कारक मानिन्छ । कुपोषण न्यूनीकरण गर्न बाँके जिल्लामा सरकारले सामाजिक संघसंस्थासँग साझेदारीमा एकीकृृत पोषण कार्यक्रम सु–आहारा सञ्चालन गरेको छ । यो परियोजनाले विभिन्न क्रियाकलाप गर्दै आएपनि विशेषगरी मधेसी र मुस्लिम समुदायमा बुझाउन नसक्दा समस्या बढ्दै गएको छ ।