समाज बदल्दै पूर्व दुर्व्यसनी


समाज बदल्दै पूर्व दुर्व्यसनी

नेपालजन्जः व्यक्तिको जीवनमा पारिवारिक वातावरणले नै प्रभाव पार्छ भन्ने पनि छैन । हामीकहाँ बाबुआमाको स्थितिलाई हेरेर बालच्चाको भविष्य निर्धारण गरिन्छ र एक पटक गलत बाटोमा लागेको मानिसमाथि पुन सही बाटोमा आउने विश्वास गरिँदैन । तर, यथार्थ फरक हुन्छ । बिना कारण कोहीपनि गलत बाटोमा जाँदैन । र सधैै त्यही मार्गमा मात्रै रहिरन्छ भन्ने पनि होइन । कोही त्यस्ता व्यक्ति हुन्छन् समाजले असम्भव बनाएको बाटोलाई पुनः त्यहि बाटोमा फर्किन सफल हुन्छन् । त्यस्तै मध्येका एक हुन् अभिराज क्षेत्री । लागुऔषधको दलदलमा फसेका उनै अभिराज अहिले समाज बदल्दैछन् । विसं २०३८ साल फागुन २१ गते रुकुमको मुसिकोटमा गोपालबहादुर क्षेत्री र आमा रुपा केसीका पहिलो सन्तानका रुपमा जन्मिएका थिए ।

जन्म रुकुममा भएपनि उनको बाल्यकाल भने नेपालगन्जकै गगनगन्जमै वित्यो । बुबा र आमा दुवै सरकारी जागिरे भएकै कारण उनले बाल्यावस्थामा कुनै अभाव र दुःख झेल्नुपरेन । ‘बुवा आमा दुवै कमाउने र म एक्लो सन्तान भएकै कारण पनि कुनै दुःखको आभास भएन, रमाइलोमै वित्यो’ अभिराजले भने । सानैदेखि तिक्ष्ण बुद्धि भएकै कारण विद्यालयमा पढाई पनि उनको राम्रै थियो । उनी एसएलसीसम्मको शिक्षा नेपालगन्जस्थित महेन्द्र नमुना माविबाट लिए । २०५३ सालको एसएलसी परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भए ।

एसएलसीबाटै लागु औषध

व्यक्ति कतिबेला गलत बाटोमा हिड्छ कसैलाई पत्तो हुँदैन । अभिराजको पनि एसएलसी दिने वर्षमै लागु औषधको बाटोमा हिड्ने सुरुवात भयो । ‘साथीहरु पिक्नीक खान ढकेरी उद्यानमा गयौं, सबै साथीहरु मदिरा पिउने गर्दथे’ उनले भने, ‘मैले पनि आफु नखाँदा संगत राम्रो हुँदैनकी भन्ने डरले मदिरा सेवन गरें, मेरो जीवनको पहिलो लागु औषध भनेकै त्यही थियो ।’ सधैं पारिवारिक वातावरणले व्यक्ति कुलतमा फस्छ भन्थे तर, आफ्नो जीवनमा भने साथीहरुको संगत छुट्ने डरका कारण मदिरा सेवन सुरु गरेको उनको भनाइ छ । एसएलसीपछि महेन्द्र बहुमुखि क्याम्पसबाट ओभीराजले प्रविणतापत्र तह पास गरे ।

Kids Festival 2022
kanti aarogya hospital

प्रेमको पीडा भुलाउन लागूऔषधको सहारा

अलिअलि लागु औषध लिने बानी परेका ओभीराजलाई पुरै एडिक बनाउने काम प्रेमवियोगले गरायो । प्रेम सम्बन्ध टुटेपछि भुलाउन सहज हुने भन्दै उनले लागुऔषधको मात्रा ह्वात्तै बढाएको बताए । ‘मेरो एकजना केटी साथीसँग गहिरो प्रेम बसेको थियो, हामी एक आपसमा छुट्टिन नसक्ने भइसकेका थियौँ’ उनले भने, ‘एकले अर्कोलाई जीवनभर साथ दिने कसम खाएको जोडी एकाएक छुट्यो, दशैं मनाउन घर गएकी उनी फर्किनन् । त्यही पीडा भुलाउन विकल्प लागुऔषध नै बन्यो ।’ प्रेमिका राजधानी गएको थाहा पाएपछि उनी त्यही पुगे तर त्यहाँ नभेटिँदा उनको पीडा झ्न बल्झियो । उनी फेरि फर्किन नसक्नेगरी सामान्य लागुऔषधकर्ताबाट ट्यापेमा परिणत भए । उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विए अध्ययनको क्रममा आफ्नै सहपाठीसँग प्रेम विवाह गरे । अध्ययनकै क्रममा नेपालगन्जस्थित एक एयर लायन्समा जागिर समेत खाए ।

सम्बन्धबाट बहिस्कार

लागूऔषध सेवन गर्ने क्रममा मैले उनले परिवारको धेरै सम्पत्ती उडाए । ‘नगद पैसा कति चोरें यसको कुनै लेखाजोखा नै छैन, आमाबुवाको सुनको गहना, तामा, पित्तलका भाँडावर्तन कुनै बाँकी राखेन’ उनले आफ्नो विगतको अनुभव सुनाउँदै भने, ‘अन्त्यमा केही नपाएपछि मैले मेरी पत्नीका कपडा र आफुले अध्ययन गर्न किनेका पुस्तकहरुसमेत बिक्री गरेर लागु औषधको आपूर्ति गर्न थालेँ ।’ अभिराजको यस्तो व्यवहारले गर्दा सन्तानकै प्यारो छोरा एकाएक चोरका रुपमा परिणत भयो र सबैको अविश्वासको पात्र बने । जसकारण उनी सबै सम्बन्धहरुबाट बहिस्कार भए । सबैको बोझ बने । ‘मेरो हर्कतका कारण बुवा आमालाई समेत म जन्मिएकोमा पश्चाताप भयो, त्यही प्रभाव अहिलेसम्म छ, अहिले पनि विश्वास गर्न मुस्किलै पर्छं’ उनले आफ्नो पीडा पोखे । दुवै जना जागिरे भएकै कारण आफुलाई समय नदिएको र एक्लोपनले कुलतमा लागेका साथीसहरुको संगतमा पर्दा लागु औषधमा फसेको उनको भनाइ छ ।

‘लागूऔषध छोड्न मैले कुनै कसम बाँकी राखेन, कसम खाएर मान्छे मर्ने र पाप लाग्ने भए म उहिल्यै मरिसकेको हुने थिएँ’ ओभरीराजको भनाइ छ । लागूऔषध सेवन गर्ने ब्यक्ति र उसको परिवार सधैँ जोखिममा हुन्छ । लागूऔषध सेवन गरेर मोटरसाइकल चलाएकै कारण दुर्घटना भयो । २०६२ सालमा नेपालगन्जको धम्बोझी चोकमा उनी सवार मोटरसाइकल ट्यांकरसँग ठक्कर खाँदा दाहिने खुट्टा काट्नु प¥यो ।

आगुऔषधबाट निस्केपछि आफै अभियानमा

व्यक्तिको जीवनको बाटो सँधै एकैनासले चल्दैन । कोही त्यस्ता व्यक्ति हुन्छन् । जहाँ समाजले बदल्न नसकेको बाटोमा अविश्वसनिय तरिकाले निस्कने हिम्मत गर्दछन् । यस्तै अभिराजले पनि आफ्नो लामो लागु औषध प्रयोगकर्ताको जीवन परिवर्तन गर्न सम्भव भए । काठमाडौंको पुर्नस्थापना केन्द्रमा दुई पटक भर्ना हुँदा केही हदसम्म कन्ट्रोल पनि भए । दुर्घटनापछि उनी नेपालगन्जकै प्रेरणा पुनस्र्थापना केन्द्रमा भर्ना भए । ‘लामो समयसम्म कुलतमा रहँदा दुःख दिएका आफन्तलाई त्यो फिर्ता दिन त सक्दिनथें, तर पनि अब म लगायत त्यस्तै बोटोमा हिँडेका अन्यलाई सुधारको बाटोमा ल्याउने सोच बनाएँ’ उनले भने । उनले प्रेरणामै एक वर्ष कार्यकारी प्रमुखको भूमिका निर्वाह गरे ।

लागूऔषध दुब्र्यसनको क्षेत्रमा भएका कमिकमजोरी र नीतिगत त्रुटी हटाउने उद्देश्यले उनले आफ्नै सक्रियतामा २०७० सालमा सहारा पुनस्र्थापना केन्द्र स्थापना गरे । यस संस्थामार्फत उनले लागूऔषधमा फसेकाको उपचार, पुनस्र्थापना, जागरण, सचेतना अभियान, लागूऔषध दुब्र्यसन सम्बन्धि तालिम, दुब्र्यसनमा फसेकाको जिविकोपार्जनका लागि सिप विकास तालिम लगायतका अभियान सञ्चालन गर्दै आएका छन् । उनी आफुलाई अहिले पनि सिकाइकै चरणमा रहेको बताउँछन् ।

लामो समयसम्म लागूऔषध सेवन गरेकोले मलाई लागूऔषध दुब्र्यसन सम्बन्धि राम्रो ज्ञान भइसकेको छ । जसको सवाल उसको नेतृत्व भने झैँ लागूऔषध दुब्र्यसनको क्षेत्रमा हुने गतिविधि, लागूऔषध प्रयोगकर्ताले गर्ने ब्यवहार, प्रयोग गर्ने थलो, उपचार, पुनस्र्थापना लगायतका बारेमा उनले विभिन्न अभियानहर सञ्चालन गर्दै आएका छन् । उनले पछिल्लो समय लागूऔषध र दु्र्व्यसन सम्बन्धि नेपाल प्रहरी र नेपाली सेनालाई समेत लागूऔषध सम्बन्धि तालिम र अनुशिक्षण दिँदै आएका छन् । हालसम्म साहारा हाउसमार्फत उनले तीनसय भन्दा बढीलाई सेवा दिइसकेका छन् । दर्जन बढी सामाजिक संस्थाबाट पुरस्कार थापेका क्षेत्री आजीवन यही अभियानमा लागि रहेन प्रण गर्दछन् । जीवन जिम्मेवारी भएको र त्यही जिम्मेवारी सामाजिक कामका लागि निभाउन सक्ने व्यक्ति नै सफल मानिने अभिराजको अनुभव छ ।