मौलिकता हराउँदै गएको तीज


बिमला चौधरी बिमला चौधरी   शुक्रबार, भदौ २१, २०८१
मौलिकता हराउँदै गएको तीज

नेपालगन्ज २१ भदौ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –६ रामप्यारी मार्गमा बस्दै आएकी ६० बर्षिया चन्द्रकुमारी बुढाथोकीले तीजमा छमछमी नाच्न नपाएको बर्षौ भईसक्यो ।

हरेक वर्ष तीज आउँदा तीजका पुराना भाकामा नाचेको उनलाई धेरै याद आउँछ । उनी भन्छिन् ‘मादलसँगै गित गाउने चलन हराईसक्यो, आजकालका चट्पटे गितमा नाच्न सकिँदैन ।’  पछिल्लो समय आफूजस्ता बुढापाकाहरु नाच्ने खालका गित हराईसकेको उनी बताउँछिन् । 

‘मादलसँगै आफैले गाएको गितमा बिस्तारै नाच्न पाए हुन्थ्यो जस्तो लाग्छ तर, गित गाउने र मादल बजाउने मान्छे नै छैनन् ।’ तीजको दिन टोलमा नाचगान भएपनि बजारमा आएका तीज गित डेगमा जति ठूलो आवाजमा बजाउँदा पनि नाचम नाचम जस्तो भित्री मनबाट नआउने बताउँदै उनी भन्छिन्– ‘पुरानो गित सम्झिदा त घुमीघुमी नाचम जस्तो लाग्छ ।’ 

चौतारीमा बसम् भने फररर बरको पात
कसलाई सुनाउने हो बरै मेरो मनको बात
बाबालाई सुनाउँ भने पहिल्यै स्वर्गीय हुनु भो
आमालाई सुनाउँ भने पहिल्यै रुनु भो ...

यस्तै बिरहका तीज गितले शरीरमा एक खालको काँडा उम्रीने र बुढापाका महिलाहरु पनि एकनास तरिकाले नाचेको चन्द्रकुमारीलाई याद आईरहन्छ ।

दाङको मलै खोला माईत बताउने चन्द्रकुमारी मलिन अनुहाार बनाउँदै भन्छिन् ‘बाबा आमा दुबै स्वर्गीय भईसक्नुभयो । माईतीमा दाजुहरु छन् तर, तीजमा नगएको करिब १५ वर्ष भईसक्यो ।’ 

वरपर तीजको नाच हेर्न जाँदा पनि पहिलेको जस्तो सबैलाई समेट्ने खालको गित र नाच नदेख्दा दुःख लाग्ने गरेको उनी बताउँछिन् । तीज आउँदा के बुढो के जवान नाच्न सबैलाई रहर हुने ईच्छा ब्यक्त गर्दै उनी भन्छिन् – ‘आजकालका तन्नेरी बगालले बुढापाकालाई पालो दिन्नन्, आफै नाच्न उठेपछि यो बुढी किन आई भन्ने जस्तो ब्यववहार गर्छन् ।’ 

पहिलेको तीजलाई सम्झिदै उनी भन्छिन् ‘गाउँघरमा नाचगान गर्दा पालैसरी कसैलाई नछुटाएर नाच्न लगाउँथे अहिले त गाउँघरमा पनि डेगमा नै नाच्छन्, हामी जस्ताको तीज त गए अब ।’ 

पहिले तीजमा देवताको गित, चेलीबेटीले दुःख पाएका गित एउटाले गाउँदा सबैले भाका छोपेर एउटै लय तान्दा सुनम–सुनम लाग्ने र आँखाबाट आँसु झरेको समेत थाहा नहुने गरेको उनले अनुभव सुनाउँछिन् । आजकाल डेगमा सुनेको गितको एउटा टुक्का पनि सम्झीन मुस्किल हुने गरेको उनी बताउँछिन् । 

चन्द्राकुमारी जस्तै सोही टोलमा बस्दै आएकी ४७ वर्षीया गोमा ओलीले पनि तीजमा धित मरुञ्जेल नाच्न नपाएको वर्षौ बितिसक्यो । मोबाईल फोन र डेगमा नाच्ने चलन आएपछि तीजको महत्व घट्दै गएको ओली बताउँछिन् । उनी भन्छिन् –‘पहिले त तीजको दर खानको लागि जति टाढा चेलीबेटी भएपनि दाईभाईहरु घरमै लिन जान्थे । दिदीभाईको अत्मीयता र माया छुट्टै हुन्थ्यो अहिले मोबाईल फोनको जमाना आएर फोनबाटै निम्तो गर्छन् ।’ 

चेलीबेटीलाई दर खान बोलाएर दाजुभाई मादल बजाउने र दिदी बहिनीहरु आँगनमा छमछम नाच्न पाउँदा विगतमा असाध्यै रमाइलो हुने तर, अहिले दाजुभाईसँग बसेर सुन्न लायकका गित पनि नरहेको उनले दुखेसो पोख्छीन् ।

पछिल्लो समय तीजको परिकार र नाचगान सबै फेरीसकेकोले तीजको खासै महत्व लाग्न छोडेको गोमा ओली बताउँछिन् । पहिलेको तीजको दरमा चाम्रे भात, झाने खाजा, चिचिण्डा, गाभा, तामा–आलुकोको तरकारी, करेलाको अचार खाँदा सजिलै पच्ने र अरु खाउँखाउँ लाग्ने गरेको तर, अहिले होटल, पार्टी प्यालेसको दर महिनौं दिनसम्म खाने चलनले गर्दा एक खालको विकृती आएको महसुर भईरहेको उनी बताउँछिन् । 

Teej_Dance-1725593624.jpg
 

नेपालगन्ज बसपार्क नजिकै घर भएकी ५५ वर्षिया मनिसरा बुढामगारले पनि आफ्नो पालामा महिनौं दिनसम्म तीजको गितमा नाचेको सम्झिन्छीन् । कृष्ण जन्माष्टमीको दिनदेखि तीज, पञ्चमीसम्म प्रत्येक दिन नाचगान गरेर रमाईलो गरेको उनको मनमा ताजै छ । उनी भन्छिन् ‘काखमा सानो बच्चा सहित नाचगान गरेर छर्लङ्ग रात बित्ने गर्दथ्यो रहर पनि कस्तो थियो त्यो बेला सम्झेर आफै दङ्ग पर्छु ।’ 

तीजमा ५ बहिनी छोरीहरुलाई माईत बोलाए पनि नाच्न रहर नगरेको देख्दा अचम्म लाग्ने गरेको मनिसरा बताउँछिन् । 

फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालले गर्दा सबैजना मोबाईलमै भुल्ने हुँदा तीजको नाचगानमा त्यति चासो नदिएको उनको बुझाई छ । यो भन्दा पहिलेकै तीज राम्रो, उनी भन्छिन् ‘छोरीहरुलाई दर खुवाएपछि नाचगान गरेर रमाउलान् भनेको त खाईपिइ गरेर सबै मोबाईलमै ब्यस्त हुन्छन् ।’ 

माइतीको घरआँगन, बजारका चोक, खुल्ला चउरमा भेला भएर गाउने गीत, स्टुडियो र युट्युब, टिकटक, फेसुबकमा सिमित बन्न पुगेपछि सबै छोरीचेली त्यसमै रमाउन थलेको मनिसरा बताउँछिन्  ।

तीजको रमझम सुरु भएपछि माइत जाने तयारीमा नारीहरु छन् भन्ने बुझाइ हुन्थ्यो । कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठा–मीठा परिकार दरका रुपमा दाजुभाइ बुबाआमा दिदी बहिनीसँगै बसेर खाने, नाच्ने उत्सुकता हुन्थ्यो । 

अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने चलन पनि कम हुदै गएको छ । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था नरहेको महिलाहरु बताउँछन् । 

पहिला–पहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोे जस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृति भन्दा मनोरञ्जन भावका गीत बढी छन् । आजभोलीको तीजमा मौलिकता हराउँदै गएको उनीहरुको बुझाईछ ।