लैंगिक समानता नीति मन्त्रिपरिषद्बाट पारित हुन्छ : प्रधानमन्त्री ओली


लैंगिक समानता नीति मन्त्रिपरिषद्बाट पारित हुन्छ : प्रधानमन्त्री ओली

नेपालगन्ज : महिलाविरुद्ध हुने सम्पूर्ण हिंसाको अन्त्यको माग गर्दै १६ दिने अभियान आजबाट देशभर शुरु भएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाविरुद्धका लैङ्गिक हिंसा अन्त्य गर्न राष्ट्रिय लैङ्गिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको बताएका छन् । उनले लैङ्गिक हिंसा विरुद्धको अभियान सफलताका लागि शुभकामना व्यक्त गर्दै उक्त कुराको उजागार गरेका हुन् ।

तेजाब आक्रमणबाट पीडितहरुलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई थप सजायको व्यवस्थासहितको अध्यादेश जारी गरिएको उनले स्मरण गरे । बलात्कारजस्ता गम्भीर आपराधिक घटनामा मेलमिलाप गराउनेलाई पनि कानूनी कारबाही हुने व्यबस्था गरिएको प्रधानमन्त्री ओलीले बताए ।

लैङ्गिक समानता र हिंसामा परेकाहरुको न्यायका लागि लैङ्गिक हिंसाविरुद्ध कानुनी कारबाहीका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, घरेलु हिंसा (कसुर र सजाय) नियमावली, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, बोक्सीको आरोप (कसुर तथा सजाय) ऐन, लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, एकल महिला सुरक्षा कोष सञ्चालन मापदण्ड, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचारसंहिता २०७४, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, कार्यान्वयनमा रहेका छन् । मानव बेचबिखन तथा विभिन्न कारणले हिंसामा परेकाहरूको लागि विभिन्न संघसंस्थाहरूको सहयोग र समन्वयमा राहत, पुनःस्थापना, कानूनी सहायता, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्शको व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

विश्वव्यापी रुपमा सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा मनाउँदै आएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी अभियान दिवस मनाइँदै आएकोछ ।

यस वर्ष संयुक्त राष्ट्र संघले लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा अरेन्ज द वर्ल्ड ः फन्ड, रेस्पोन्ड, प्रिभेन्ट, कलेक्ट (सुंतला संसार ः कोष, प्रतिक्रिया, रोकथाम, संकलन) राखेको छ ।

नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि मनाउन शुरु भएको छ । यस वर्ष कोभिड १९ को महामारीका कारण भौतिक रूपमा कार्यक्रम सञ्चालन गर्न सम्भव नभए पनि प्रविधिको माध्यमबाट आ–आफ्नो स्थानबाट सुरक्षित रहँदै विभिन्न कार्यक्रमहरू सहित १६ दिने अभियानलाई सार्थक बनाउन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् ।