करिब २ सय किलो चाँदी पनि भेटियो, यो राज्य विरुद्धको आर्थिक अपराध हो तुरुन्छ मुद्दा चलाउनु पर्छ : ग्रेस
मेडिकल कलेजलाई घाटामा देखाएर २ दशक भन्दा बढी राज गरेका र कान्छि बुहारीलाई सम्पत्ति भाग लाग्ने डरले सम्पत्ति लुकाइ राखेका डा.सुरेश कनोडियाको घरबाट भारतीय र नेपाली रकम त बरामद भयो नै त्यहाँ २ सय किलो भन्दा बढी चाँदी समेत भेटियो । प्रहरीलाई खानतलासी गर्न नै ७ घण्टा समय लागेको थियो ।
भारतमा राम्रो कनेक्सन रहेका मेडिकल कलेज व्यवसायी तथा धनाढ्य डा.सुरेश कुमार कनोडियाको नेपालगन्ज विपी चोक स्थित घरबाट अवैध रुपमा राखिएको लाखौं भारतीय रुपैंया र नेपाली रुपैंया बरामद भएको छ । प्रहरीले कनोडियाको घर खानतलासी गर्दा भारतीय ५०० दरका र नेपाली १००० दरका गरी ३० लाख भन्दा बढी रुपैंया बरामद गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटी गएको प्रहरी टोलीले नगर वडाध्यक्षको रोहवरमा गत शुक्रबार (तीन दिन अघि) कनोडियाको सम्पूर्ण घर खानतलासी गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेपछि डेढ दर्जन प्रहरीहरु प्रवेश गरी डा.कनोडियाको घर खानतलासी गरेका हुन् । अर्कै उद्देश्यले घर खानतलासी गरिएपनि घरबाट भने ठुलो परिमाणमा भारतीय र नेपाली रुपैंया फेला परेको हो ।
खानतलासीका क्रममा बाँके प्रहरीले नेपालको प्रचलित कानुन विपरित अवैध रुपमा राखिएको ९ लाख ६० हजार ६ सय ८० भारतीय रुपैंया र १५ लाख ३९ हजार ५ सय ७० नेपाली रुपैंया कनोडियाको घरको दराजभित्र राखिएका सुटकेश र घर्राबाट बरामद गरेको हो । बाँके प्रहरीले कनोडियाको घरबाट भारतीय र नेपाली रुपैंया बरामद भएको पुष्टी गरेको छ ।
अब कनोडियाले बरामद रकमको श्रोत देखाउनु पर्ने हुन्छ । कनोडियाले नेपाली रकमको श्रोत देखाउन सकेपनि भारतीय रकम बारे पुष्टी हुने आधार देखिदैन । किनकी भारतीय ५०० दरका नोट ल्याउन, लैजान तथा सटही बारे राष्ट्र बैंकले हालै मात्र नयाँ व्यवस्था ल्याएपनि कनोडियाको घरमा भेटिएको रकम कानुन विपरित देखिन्छ ।
त्यसकारण उनी नेपाल सरकारको कानुनको फन्दामा पर्ने देखिन्छ । अन्य कसैले लाखौं रकम साथमा लिएर हिंडडुल गरे वा पसल, घरमा राखेको अवस्थामा फेला पारे नेपाल प्रहरीले रकम जफत गर्ने, व्यक्तीलाई लगेर थुन्ने र मुद्दा चलाउने जस्ता अभ्यास हुँदै आएपनि यहाँ यति ठुलो परिमाणमा भारतीय र नेपाली रकम बरामद हुँदापनि प्रहरीले अहिलेसम्म रकम मात्र लगेको छ भने कसैलाई पक्राउ गरेको छैन । पीडित ग्रेसले अवैध रुपमा भेटीएको रकम बारे मुद्दा अलाउनु पर्ने बताइन् ।
कनोडियाको घरबाट बरामद भएको भारतीय र नेपाली रुपैंया
भारतीय ५०० दरका १६६३ थान ८,३१,५०० रुपैंया, भारतीय १०० दरका १२०९ थान १,२०,९०० रुपैंया, भारतीय ५० दरका २७१ थान १३,५५० रुपैंया, भारतीय २० दरका ३३४ थान ६,६८० रुपैंया, भारतीय १० दरका ७१ थान ७१० रुपैंया, भारतीय ५ दरका ३८ थान १९० रुपैंया, भारतीय २ दरका १०० थान २०० रुपैंया, भारतीय १ दरका ३०० थान ३०० रुपैंया, भारतीय २०० दरको १ थान २०० रुपैंया गरी जम्मा ९ लाख ६० हजार ६ सय ८० भारतीय रुपैंया कनोडियाको घरबाट प्रहरीले बरामद गरेको छ । त्यस्तै नेपाली १०००, ५०० लगायत दरका १५ लाख ३९ हजार ५ सय ७० नेपाली रुपैंया बरामद भएको छ ।
यसरी बरामद भयो पैसा
बाँके प्रहरीलाई डा.सुरेश कुमार कनोडियाको घरमा यति धेरै अवैध रुपमा भारतीय रुपैंया र नेपाली रुपैंया छ भन्ने थाहा थिएन । डा.सुरेश कुमार कनोडियाकी कान्छि बुहारी अर्थात कान्छो छोरा डा.नितेश कनोडियाकी श्रीमती ग्रेस रौनियारलाई घरेलु हिंसा गरी एक बर्ष अगाडी घरनिकाला गरेपछि उनीहरुबिच अदालतमा दर्जनौ मुद्दा चलिरहेको छ ।
त्यस मध्ये एउटा मुद्दा ग्रेसले घरमा राखिएको आफ्नो गरगहना लत्ताकपडा लैजान पाउँ भन्ने थियो । उनले अदालतमा आफ्नो के के गहना श्रीमान नितेशको घरमा रहेको छ भनि अदालतमा गहनाहरुको लिष्ट सहित बिल पेश गरेकी थिइन् । ग्रेसले हिरा, सुनका गहना, वहुमूल्य घडीहरु र चाँदीका भाँडाहरु गरी करिब २ करोड ५० लाख मूल्य जतिको रहेको बताइन् ।
अदालतले गरगहना निकालेर लैजान पाउनु पर्ने आदेश गरेपछि केही दिन अघि प्रहरी र अदालतका कर्मचारी सहित नेपालगन्ज स्थित नितेशको घरमा आफु पुगेको ग्रेसले बताइन् । घरमा पुग्दा कनोडिया परिवारले कुनैपनि गहना लत्ताकपडा केही नभएको र ग्रेसले सबै लिएर गएको जवाफ दिएपछि सबै फर्किएका थिए । ‘मैले आफ्नो सामान राखेको दराज, घर्राहरुमा ताल्ता लगाएकी थिए तर उनिहरुले मेरो समान भएको दराज घर्राहरु फोडेर पल्ला नै चेन्ज गरिसकेका रहेछन् अनि सामान छैन भनेपछि हामी सबै रित्तै फर्कियौं । ग्रेसले सेतोखरीसँग भनिन् ।’
कनोडिया परिवारले आफ्नो वहुमुल्य गहनाहरु नदिएपछि ग्रेसले जिल्ला प्रहरी कार्यालय बाँकेमा कनोडिया परिवार विरुद्ध चोरी मुद्दा हालिन् । अनि उनले घर खानतलासीको आदेश लिइन् । उनी डेढ दर्जन प्रहरी सहित नेपालगन्ज उपमहानगरपालिका २ का वडा अध्यक्षलाई लिएर डा सुरेश कुमार कनोडियाको घर पुगिन् । घरमा कनोडियाकी श्रीमती रश्मी, जेठी बुहारी र ग्रेसका श्रीमान नितेश रहेका थिए ।
यहि साउन ८ गते शुक्रबार प्रहरी सहितको टोलीले कनोडियाको घर खानतलासी गर्यो । ग्रेसको गरगहना
खोज्न गएको प्रहरीले कनोडियाको सुम्पूर्ण कोठाहरु खानतलासी गर्यो । प्रहरीलाई ७ घण्टा लाग्यो घर खानतलासी गर्न । गहना खोज्नेक्रममा जब दराज खोलियो अनि सबै प्रहरी चकित परे । सुटकेश र घर्रा खोल्दा त चाङ्का चाङ् भारतीय र नेपाली रुयैंयाका गड्डी फेला परे । त्यसपछि सबै हेरेको हेर्यै भए ।
निवेदकको गहना खोज्न गएको प्रहरीले अवैध रुपमा राखिएको लाखौं भारतीय र नेपाली रुपैंया फेला पार्यो । खानतलासीमा संलग्न एक जनाले भने ‘मैले फिल्ममा मात्र देखेको थिए पैसै पैसाले भरिएका सुटकेशहरु कनोडियाको घरमा प्रत्यक्ष देख्न पाएँ, पैसा पनि कति हो, जहाँ खोल्यो त्यहि पैसाका गड्डी भेटिने ।’
त्यति मात्र कहाँ हो २ सय किलो भन्दा बढी चाँदी फेला परेको छ । भर्खर फ्याक्ट्रिबाट सिधै बनाएर ल्याए
जस्तो दराजभरी चाँदीका सामान भेटिए । खानतलासीमा संलग्न ती व्यक्तिले भने ‘एउटै तौल एउटै साइजका बाँसुरी राखेको प्याकमा २०–३० वटा चाँदीका बाँसुरी मात्र, शंख राखेको प्याकमा २०–३० वटा चाँदीको शंखमात्र, कृष्ण भगवानका चाँदीका मुर्तीहरु सबै चाँदीका समानहरु एकदम धेरै धेरै तौल भएका थिए । कम्तीमा पनि २ सय किलो भन्दा बढी नै होला ।’
कनोडियाको घरबाट बरामद भएको रकम बाँके प्रहरीले मुचुल्का उठाएर लगेर गएको छ भने चाँदी अन्य केही लगेको छैन । प्रहरीसँगै गएकी पीडित ग्रेसले कनोडियाको घरबाट भारतीय र नेपाली लाखौं रुपैंया बरामद भएको बताइन् । सबै रकम प्रहरीको संरक्षणमा रहेको उनले बताइन् ।
तर आफ्नो २ वटा सुनको असर्फी, १ वटा हिराको औंठी र १ वटा चाँदीको कचौरा मात्र फेला परेको बताउँदै करिब २ करोड मूल्यको हिरा र सुनका गहनाहरु अझै फेला नपरेको ग्रेसले बताइन् ।
(प्रहरीले घर खानतलासी गरेको, बरामद रकम र प्रहरीले रकम गनिरहेको भिडियो सेतोखरीसँग सुरक्षित रहेको छ ।)