नेपालगन्ज : बाँकेसहित देशभर शिख समुदायले गुरुनानक जन्मजयन्ती विविध कार्यक्रम गरि मनाएका छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्तीका मनाइने गरिन्छ ।
गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनले गराए ।
शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेका थिए । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्थे ।
गुरुनानक जयन्तीका अवसरमा सोमबार बाँकेको नेपालगन्ज स्थित विपी चोकमा रहेको गुरुद्वारामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका धार्मिक परम्परा अनुसार पूजापाठ गरिएकोछ ।
देशमै सबैभन्दा बढि बाँकेमा शिख समुदायको बसोबास रहदै आएको शिख समुदायका अगुवा बताँउछन् । यस वर्ष कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर गुरुनानक जयन्ती मनाइएकोछ ।
यस्तै गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइनेछ ।