सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु ।
खयरभट्टी (बाँके): राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने सीमावर्ती क्षेत्र महेशपुरमा सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास गरिएको छ ।
नेपाल–भारत सीमा अन्तर्गत पर्ने उक्त ठाउँमा बिओपी स्थापनाका लागि बुधबार धार्मिक विधिपुर्वक भवन शिलान्यास गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी लाहुराम थारुले भवन शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गरिसकेपछि बोल्दै उनले जनताले अहिलेसम्म सीमा स्तम्भको सुरक्षा गर्दै आएकोमा अब सुरक्षाकर्मीसँग मिलेर सुरक्षा गर्नुपर्ने बताए । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु आफ्नो राष्ट्र र राष्ट्रियताप्रति बफादार रहेको बताए । गाउँपालिकाले भवन निर्माणको काम छिट्टै सम्पन्न गर्ने उनको भनाई छ ।
यस्तै विशिष्ट अतिथी एवम् सशस्त्र प्रहरी बल सम्शेरगन्जका डिएसपी जनकराज पन्तले उक्त भवनलाई सशस्त्र प्रहरीले चाँडै प्रयोग गरेर शान्ति, सुरक्षामा खटिने बताए । उनले भने, ‘भवन निर्माणको काम सम्पन्न भए लगत्तै चाडै हाम्रो बिओपीले यहाँ बसेर काम सुरु गर्नेछ ।’
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले गरेको गाउँपालिकाका लेखा अधिकृत गौरब लामिछानेले जानकारी दिए ।
उक्त ठाउँमा सशस्त्र प्रहरी बलको बिओपी राख्नका लागि यसअघि जनप्रतिनिधी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधी तथा सञ्चारकर्मीको एक सर्बपक्षिय टोली स्थलगत निरीक्षण गर्न त्यहाँ पुगेको थियो । उक्त ठाउँ बाँकेको अति दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । स्थानीयका अनुसार आधा दर्जनबढी त्यहाँका गाउँमा १ सय ७० घरधुरी रहेको छ ।