अर्घाखाँची : लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भष्टाचारमा शून्य सहनशीलता बढेको जिकिर गरेकाछन् ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसका अवसरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको समन्वयमा भएको कार्यक्रमा बोल्दै घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचर बढ्नुको एथेष्ट प्रमाण नभएको भन्दै उजुरी बढ्नु सरकारले ल्याएको भ्रष्टाचार बिरुद्धको शून्य सहनशिलता नीतिको उपज भएको बताए ।
भ्रष्टाचार निवारण र लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा घिमीरेले नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास भएको भन्दै यसले भ्रष्टाचार बिरोधी अभियानले गति लिएको बताए ।
उनले लैंङ्गिक हिंसा, भ्रष्टाचार, सामाजिक बिकृति बिसङ्गतीको अन्त्य गर्न पहिला आ–आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । साथै उनले ट्रान्सपरेन्सी ईन्टरनेश्नलको प्रतिवेदन मिथ्या र सरकारलाई आरोप लगाउने खालको भएको बताए ।
सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने अभियानमा अनवरत रुपमा लागि रहेको बताए । उनले बिभिन्न योजनामा बजेट परेपछि कार्यसम्पन्न र भुक्तानी नहुँदै पनि अनियमितताको बारेमा उजुरी हाल्ने गलत परिपाटी बस्ने गरेको पनि बताए ।
भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भ्रष्टाचार निवारण आफैबाट सुरु गर्नुपर्ने धारणा राखे । थापाले राज्यको उपल्लो ओहोदाबाटै भ्रष्टाचारजन्य गलत मानसिकलाई त्याग्दै सबै दूर दराजसम्मको मानसिकतामा सुधार ल्याउनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लामा भ्रष्टाचारमा संलग्नलाई प्रोत्साहित नगरी निरङ्कुशताका साथ नीतिको कार्यान्वयन गरिने बताए । उनले व्यक्ती, संस्था, समहु, तथा राज्यका तह तथा तप्काहरु सार्वजनिक निकाय रहेको उल्लेख गर्दै हरेक सार्वजनिक निकायलाई भ्रष्टाचार मुक्त बनाउन उद्दत रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधवराज बुढाथोकी, संयुक्त दलित अधिकार मञ्चका संयोजक ठाकुर सौराग, अन्तरपाटी महिला सञ्जालका प्रतिनिधी ईश्वरा पोख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेष खनाल लगायतले बोल्दै भ्रष्टाचार सामाजिक अपराध भएकोले त्यसको अन्त्य गर्न सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले भ्रष्टाचार निवारणमा सार्वजनिक निकायको भूमिका र गैसस महासंघका सागर परियारले लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षता, सदस्य फर्सुराम पाण्डेको स्वागत मन्तब्य र सचिव राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।