सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्छ : पूर्वआयुक्त बास्कोटा


सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्छ : पूर्वआयुक्त बास्कोटा

नेपालगन्ज : पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सरोकारवाला निकायमा सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्ने बताएकाछन् ।

बुधबार भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय बागेश्वरी असल शासन क्लव, बासले बाँकेको नेपालगन्जमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको सम्मेलन तथा २० औँ वार्षिकउत्सव कार्यक्रममा बोल्दै बास्कोटाले यस्तो बताएका हुन् ।

भ्रष्टाचार निवारणका लागि सार्वजनिक निकायमा बसेका व्यक्ति र नागरिक सबैको भूमिका उक्तिकै हुने बताउदैँ पूर्वआयुक्त बास्कोटाले ‘विभिन्न अध्ययन प्रतिवेदनअनुसार भ्रष्टाचारविरुद्धको आन्दोलन अझै शशक्त बनाउनुपर्ने आवश्यकता देखिएको औल्याए ।’

उनले उच्च पद र ओहदामा बसेका व्यक्तिले लोभ लालच र अहँकार त्याग्न सके लोकप्रियता हाँसिल गर्न सकिने बताउँदै उनले सार्वजनिक ओहदाका व्यक्तिलाई थप जिम्मेवार बनाउन नागरिक तहबाट घच्घच्याइरहन आवश्यक रहेकोे धारणा राखे ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले भ्रष्टाचार अन्त्य गर्न सर्वप्रथम आफैँ प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । हरेक व्यक्तिले आफूले कुनै किसिमको अनियमितता नगर्ने प्रतिबद्धता व्यवहारमा देखाउन सके भ्रष्टाचार न्यूनिकरण हुनेमा कुनै शंका नरहेको उनले बताए ।

बास केन्द्रीय अध्यक्ष रमेश सिटौलाले २० वर्षको अवधिमा बासले देशैभर सूचना माग्ने प्रवृतिको विकास गर्दै अनियमितता हुन नदिन अभियानको नेतृत्व गरिरहेको बताए । २० औँ वर्षको अनुभवले बासले आगामी दिनमा अझै सक्रियतापूर्वक भ्रष्टाचार निवारण र सुशासनको प्रर्बद्धनका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

बासका सल्लाहकार रुद्र तिमिल्सेनाले बासले देशैभरका युवाहरुलाई गोलबद्ध गरेर भ्रष्टाचार न्यूनीकरणका लागि भूमिका खेलेको बताए । युवाक्षेत्रको सक्रियताले भ्रष्टाचारयुक्त क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउन सकिने उनको भनाई थियो ।

बासले आफ्नो २० औँ वार्षिकउत्सव समारोहका अवसरमा बाँके नेपालगनज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणालाई सम्मान गरेको छ । मेयर राणाले निर्वाचित भएसँगै आफूले पाउने पारिश्रमिक विपन्न परिवारका लागि खर्च गर्ने गरेको तथा नगरमा शुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेर अन्य क्षेत्रका जनप्रतिनिधिलाई पनि उदाहरण बन्न प्रोत्साहन दिएकोले सम्मान गरेको बास केन्द्रीय समितिले जनाएको छ ।

सम्मानपछि बोल्दै मेयर राणाले सार्वजनिक पद र ओहदामा रहेका व्यक्तिले कानून आफूखुसी मिचेको भन्दै उनले जनप्रतिनिधि र नागरिक सजग भए गलत काम रोक्न सम्भव रहेको बताए ।