दुर्गमका पत्रकार उत्साहित


दुर्गमका पत्रकार उत्साहित

नेपालगन्ज : जिल्लाबाटै प्रेस पास नवीकरण गर्न व्यवस्थाले दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उत्साहित बनेका छन् ।

नयाँ प्रेस पास लिन तथा नवीकरणका लागि राजधानी आउनुपर्ने अवस्था हुँदा अधिकांश पत्रकारले प्रेस पास नै नलिई काम गर्दै आएका थिए । प्रेस पास लिएकाले निर्धारित समयमै नवीकरण गर्न समेत सकेका थिएनन् ।

नेपाल पत्रकार महासङ्घ डोल्पाका संस्थापक अध्यक्ष विष्णुबहादुर बुढा जिल्लाबाटै प्रेस पास नवीकरण गर्न सकिने सरकारको निर्णयबाट दुर्गमका पत्रकारमा उत्साह थपेको बताए ।

महासङ्घमार्फत दुर्गमका पत्रकारले सम्बन्धित जिल्लाबाटै प्रेस पास नवीकरणको माग गर्दै आएका थिए । ‘हामीले लामो समयदेखि प्रत्येक फोरममा जिल्लाबाटै प्रेस पासको व्यवस्था हुनुपर्ने माग गर्दै आएका थियौँ,’ उनले भने – ‘सरकारले ढिलै भए पनि जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाएको छ । हामी अत्यन्त खुशी भएका छौँ, सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।’

Kanti Aarogya Hospital Nepalgunj

प्रेस पास नवीकरणका लागि काठमाण्डौ नै आउनुपर्ने बाध्यात्मक अवस्था हुँदा आफ्नो प्रेस पास चार पटकसम्म नवीकरण गर्न नपाएको उनको भनाइ छ ।

‘प्रेस पास नवीकरणका लागि तोकिएको समयमै काठमाण्डौ जानुपर्ने अवस्था थियो, केही पत्रकारले प्रेस पास लिए पनि नियमित नवीकरण गर्न सकेका थिएनन्,’ उनले भने– ‘अब प्रेस पास लिने तथा नियमित नवीकरण गर्नेको संख्या बढ्ने निश्चित छ ।’

विभागले चालु आवको प्रथम चौमासिकमा ६७८ नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र जारी गरेको तथ्याङ्क छ । यही अवधिमा एक हजार २२० प्रमाणपत्र नवीकरण भए । यसैगरी स्वतन्त्र प्रेस पास चार, विदेशी पत्रकार प्रेस पास पाँच र अध्यक्ष/प्रकाशक परिचयपत्र ४५ वटा जारी भएका छन् । यही अवधिमा १६० वटा नयाँ अनलाईन दर्ता र १५१ अनलाईन नवीकरण गरिएको विभागले जनाएको छ । यस्तै १३ वटा पत्रिका स्थायी दर्ता सिफारिश र ५९ वटा पत्रिका अस्थायी दर्ता सिफारिश भएका छन् ।