नेपालगन्ज : द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँके अध्यक्ष चन्द्रकला उप्रेतीलाई ‘भजन मानव अधिकार पुरस्कार २०७७’ प्रदान गरिएको छ । १२ औँ मानव अधिकार महाभेला तथा भजन मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उप्रेतीलाई पुरस्कार प्रदान गरिएको हो ।
उनलाई उच्च अदालत तुलसीपुर, ईजलाश नेपालगन्जका न्यायाधीश केशवराज जोशी र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पुरस्कार प्रदान गरेका हुन् ।
द्वन्द्व पीडित र मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
इन्सेक नेपालगन्जमा कार्यरत भजनराम चौधरीको २०६९ जेठ १६ गते बिहान सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । मानव अधिकार सञ्जाल, नेपालगन्जले उनको नाममा ट्रष्ट स्थापना गरि प्रत्येक दुई वर्षमा मानव अधिकारको क्षेत्रमा क्रियाशिल मानव अधिकारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।
यसैगरि, मानव अधिकार सञ्जाल, नेपालगन्जले विगत लामो समयदेखि द्वन्द्व पीडित तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल जयन्ती खत्री र निर्मला सुनारलाई सम्मान गरेको छ । दोसल्ला र सम्मान–पत्र सहित सम्मान गरिएको सिफारिस समितिका सदस्य मैमुना सिद्दिकीले जानकारी दिइन् ।
सो अवसरमा न्यायाधीश जोशीले मानव अधिकार संरक्षण तथा सम्र्बद्धनका लागि सबै जना एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।