नेपालगन्ज : बाँकेका बरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’ की धर्मपत्नी कमलादेवी गुप्ताको शुक्रबार बिहान निधन भएकोछ ।
नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत रहेका प्रेस स्वतन्त्रता सेनानी एवम बाँकेका वरिष्ठ पत्रकार स्वर्गीय पन्नालालकी धर्मपत्नी कमलादेवीको शुक्रबार बिहान ५ बजे ८४ वर्षको उमेरमा निधन भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८, निवासी कमलादेवी केहीसमय अघि मस्तिष्कघात समस्याले बिरामी भएकी थिइन् ।
नेपालगन्ज उपमहानगरापालिकाका पूर्व मेयर समेत रहेका कमलादेवीका छोरा विजय गुप्तका अनुसार उनको धार्मिक विधिपुर्वक शनिबार बिहान १० बजे बाँकेको कम्दीस्थित सिधनियाघाटमा अन्त्येष्टी गरिनेछ ।
यसैबीच, युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’ की धर्मपत्नी कमलादेवीको निधनप्रति नेपाल प्रेस युनियन बाँके शाखाले शोक बक्तब्य जारी गर्दै दुःख प्रकट गरेकोछ ।
‘दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै युनियन बाँके भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।’ युनियन बाँकेका सचिव विजय मल्लद्वारा जारी उक्त शोक बक्तब्यमा भनिएकोछ ।