कोहलपुर (बाँके) : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीका लागि बन्ने गुरुयोजना सबैको आकर्षणको केन्द्र हुने बताएका छन् ।
नेपाल टेलिभिजन कोहलपुरको निरीक्षणका क्रममा आयोजित कार्यक्रममा मन्त्री केसीले यस्तो बताएका हुन् ।
मन्त्री केसीले प्रदेशको स्थायी राजधानीका लागि बन्ने गुरुयोजना सबैको आकर्षणको केन्द्र हुने भन्दै स्थायी राजधानी तोकेसंगै अब समग्र संरचना निर्माणका लागि गुरुयोजना बनाएर अघि बढ्ने उनको भनाई छ ।
पछिल्लो समय एनटिभी कोहलपुर प्रभावकारी हुँदै गएको भन्दै नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय स्थायी राजधानीमै निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने सहयोग गर्न प्रदेश सरकार तयार रहेको मन्त्री केसीले स्पष्ट पारे ।
एनटिभी कोहलपुरबाट उत्पादन भएर प्रसारण भइरहेका कार्यक्रमहरुको गुणस्तरमा सुधार आइ च्यानल कै प्रतिष्ठा बढिरहेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन पनि उनले निर्देशनसमेत दिए ।
सो अवसरमा एनटिभी कोहलपुरका प्रमुख निराजन खनालले हाल एनटिभी कोहलपुरले दैनिक करीव ७ घण्टा समाचार तथा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिदै एनटिभी कोहलपुरप्रति प्रदेश सरकारहरुले देखाएको बिश्वास र चासोले च्यानललाई अघि बढ्न थप हौसला मिलेको बताए ।
नेपालगन्जमा भएको सुरक्षा सम्बन्धिको गोष्ठिका लागि आएका मन्त्री केसीले यसअघि बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा पुगी त्यहाँको सुरक्षा व्यवस्था, समस्या, चुनौती लगायतका विषयमा जानकारी लिएका थिए ।