नेपालगन्ज : उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले सिक्टा सिँचाई आयोजनाको कार्य छिटो सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताएकाछन् । नेपालगन्जमा गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले ‘राष्ट्रिय गौरवका आयोजना निर्माणमा कुनैपनि कुराको कमी हुन नदिन सरकार कटिबद्ध रहेको भन्दै निर्माण कार्यलाई सफल बनाएर किसानका खेतमा पानी ल्याउनेमा तत्मपर रहेको बताए ।’
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सिक्टा सिचाइँ लगायत राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक दक्ष जनशक्ति, बजेट तथा स्रोतसाधन लगायतका कुनैपनि कुरामा कमी नहुने स्पष्ट पारे ।
‘कुनैपनि कानूनी अड्चनविना सञ्चालन हुने भएकाले राष्ट्रिय गौरवका आयोजना भनिएको छ,’ उनले भने ‘आवश्यक बजेट र जनशक्तिको ब्यवस्था गरेर आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गर्ने सरकारको योजना छ । सो अनुरुप सरकार अघि बढेकोछ ।’
सिक्टाको नयाँ गुरुयोजना परिवर्तन हुन लागेको जानकारी दिदैं मन्त्री पुनले सिक्टा सिचाइँ आयोजनाको विषयमा एकातिर कानूनी प्रक्रिया चलिरहेपनि निर्माणको कामलाई सरकारले अगाडी बढाइरहेको बताए ।
‘नहर भत्किएपछि सिक्टामा अलिकति जटिलता आएकोछ, मुद्दाको पाटो एकातिर छदैँछ, अर्कोतिरबाट बाँकी कामलाई अगाडी बढाउनुपर्छ भन्ने सरकारको मान्यता छ ।’
दुई वर्षअघि सिक्टाको पश्चिम मुलनहर परीक्षणका क्रममा भत्किएपछि लामो छानविन पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको ठहर गर्दै आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार तथा परामर्शदाता कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दा अहिलेपनि विशेष अदालतमा चलिरहेको छ । सरकारले आफ्नै स्रोत साधन र जनशक्तिबाट सम्पन्न गर्न लागेको हुँदा सिक्टा आयोजना निकै महत्वपुर्ण रहेको मन्त्री पुनका भनाई छ ।
नेपालगन्जमा संघीय र प्रदेश सभाका सांसद, सिचाइँ विभाग, सिक्टा सिचाइँ आयोजनाका कर्मचारी, निर्माण ब्यवसायी, सिचाइँ उपभोक्ता तथा पत्रकारसँग गरिएको छलफलमा संघीय सांसद महेश्वर गहतराज र नन्दलाल रोकायले सिक्टा सिचाइँ आयोजनाको सुस्त गतिले बाँकेबासीमा निराशा छाएको भन्दै गुनासो गरेको थिए ।
आयोजना सम्पन्न हुनु अगावै देखिन थाले चुनौतीहरु
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको ४० प्रतिशत काम बाँकी रहदै गर्दा विभिन्न चुनौतीहरु देखा पर्न थालेकाछन् । झण्डै ३१ अर्बको लगानीमा बाँकेको राप्तीसोनारी गाउँपालिका, अगैयामा रहेको आयोजनाको कार्यसम्पादन पुरा हुनु अगावै विभिन्न चुनौतीहरु देखा पर्न थालेका हुन् ।
हालसम्म आयोजनाको ४५ किलोमिटर नहर निर्माण भइसकेको छ । तर, पूर्ण रुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतीहरु समान गर्नुपरेको हो । नहरको पुलमा लगाएका ¥यालिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौतीले आयोजना गुज्रिरहेकोछ ।

सिक्टा सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहरभित्र बनाइएका सल्यापहरु माटोमा भासिने भएको हुनाले पनि काम गर्न समस्या भइरहेको बताए ।
उनका अनुसार सिक्टा नहरमा खास गरेर घुलनसिल माटो भएको कारणले गर्दा नहरको संरचना भत्किने गरेको हो । यस्तै अधिकांश नहर जङ्गलको बाटो भएर पानी खेतसम्म पुगउन गाह्रो भएको थियो । तर, पनि पानी ल्याउन सफल भएको उनले बताए ।
सिक्टा सिंचाईको ठूलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवास्थित रुपले नहरमा पुल निर्माण र ढल निकास बनाइएपछि खेतमा पानी पु¥याउन थप जटिल देखिएको छ । सिक्टा सिंचाई अयोजना बाँकेको पहलमा काम भइराखेपनि स्थानीय निकायहरु भने मौन देखिन्छन् ।
