नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा(ट्राईल) सञ्चालन हुने भएकोछ ।
देशमा कोरोना भाइरस संक्रमण देखिएसगैं गत चैत्र महिनादेखि स्थगित भएको ट्राईल यहि पुष १३ गतेदेखि सञ्चालन हुन लागेको हो ।
यातायात ब्यवस्था कार्यालय नेपालगन्जले बुधबार एक सूचना जारी गर्दै आगामी पुष १३ गतेदेखी सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा(ट्राईल) सञ्चालन हुने जानकारी गराएको छ ।
पहिलो चरणमा पुष १३ गते मोटरसाईकल, स्कुटर, मोपेड, टेम्पो, अटोरिक्सा र ई–रिक्साको प्रयोगात्मक (ट्राईल) परीक्षा सञ्चालन गरिनेछ ।
कार्यालयका अनुसार २०७६ चैत्र ७ गतेसम्म राजश्व बुझाई लाईसेन्सका लागि आवेदन दिएकाहरुको हकमा मात्र यो नियम लागु गरिएको छ ।
त्यसैगरी सोही मितिमा कार, जिप, डेलिभरी भ्यान, ट्रयाक्टर, मिनि बस, मिनि ट्रक, बस र ट्रकको लाईसेन्सका लागि आवेदन दिएकाहरुले पनि क्रमशः पुष १४, १५ र १६ गते ट्राईल दिन सक्नेछन् । यद्यपी रि–ट्राईल र नयाँ लाईसेन्सको आबदेन दिने बारे कार्यालयले कुनै सूचना जारी गरेको छैन ।