नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा ईलाका हुलाक कार्यालयको भवन शिलान्यास गरिएकोछ । जिल्ला हुलाक कार्यालय बाँके अन्तरगत ईलाका हुलाक कार्यालयका लागि चार कोठे पक्की भवन निर्माण गरिदैछ ।
जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले शुक्रबार एक कार्यक्रमकाबीच उक्त भवनको शिलान्यास गरेका हुन् । विगत चार दशकदेखि टिनको छाना भएको कच्ची भवनबाट खजुरा तथा जानकी गाउँपालिकामा हुलाक सेवा पु¥याउदै आईरहेको उक्त कार्यालयको स्तरउन्नती गर्दै नयाँ भवन निमार्ण गरिदैछ ।
हुलाक अधिकृत पाण्डेले गत वर्ष उक्त कार्यालयको स्थलगत निरीक्षण गर्दा दयनिय अवस्थाको भवनबाट सेवा प्रवाहमा कठिनाई भएको पाइएपछि भवनको स्तरउन्नती गर्दै नयाँ भवन निमार्ण गरिन लागिएको हो ।
नयाँ भवनका लागि हुलाक सेवा विभागसँग बजेट व्यबस्था तथा शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय ईकाइ नेपालगन्जसँग प्राविधिक सहयोगमा भवन निर्माण गरिदैछ ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधी मन्त्रालय अन्तरगतको हुलाक सेवा विभागले आर्थिक वर्ष०७७÷०७८ मा भवन निर्माणका लागि बजेट बिनियोजन गरेपछि उक्त भवन निर्माणका लागि २०७७ कार्तिक ४ गते जिल्ला हुलाक कार्यालय बाँकेले ईविडिङ्ग मार्फत टेण्डर आवह्वान गरेको थियो ।
ईविडिङ्ग मार्फत १४ वटा निर्माण व्यबसायीहरुले टेण्डर दर्ता गरेकोमा सबै भन्दा घटी रु २८ लाख ५३ हजार ४ सय ७ रुपैयाँ ८४ पैसा बोल कबोल गर्ने जिडीएस कुरीमष्टा जेभी कालिकोटसँग कार्यालयले भवन निर्माणका लागि सम्झौता गरेकोछ ।
आगामी वर्ष २०७८ जेष्ठ मसान्तसम्म निमार्ण कार्य सम्पन्न गर्ने सम्झौता भई भवन निमार्ण कार्य अगाडी बढाइएको छ । उक्त भवन नेपालगन्ज–गुलरिया सडक (हुलाकी राजमार्ग) स्थित कपास विकास समिति चोकमा छोटी हुलाक कार्यालय खजुराका नाममा रहेको साविक बागेश्वरी–१ कित्ता नम्बर १३ को ३३५ वर्ग मिटर जग्गामा भनव निर्माण भइरहेको ।
निर्माणधिन उक्त भवनबाट खजुरा तथा जानकी गाउँपालिकाका आम जनता, दुबै गाउँपालिकाका कार्यालय, वडा कार्यालयका साथै कृषि अनुसन्धान परिषद् भित्रका करिब एक दर्जन कार्यालय, शुसील कोईराला प्रखर क्यान्सर अस्पताल, खजुरा अस्पताल, प्रहरी गुल्म, क्याम्पस, बिद्यालयहरुका लागि हुलाक सेवा सहजता हुनेछ ।
संघ, प्रदेश तथा स्थानीय तहसंग समन्वय गरी बाँके जिल्ला हुलाक कार्यालयका साथै ११ वटा ईलाका तथा ३५ अतिरिक्त हुलाक कार्यालयका भवनको मर्मत, रङ्ग रोगनको काम समेत शुरु गरिएको हुलाक अधिकृत पाण्डेले जानकारी दिए ।