विद्यार्थी अभावमा विशेष शिक्षा बन्द


विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

File Photo

बैतडी : विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो ।

सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने,‘अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।’

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर अपाङ्गता भएका विद्यार्थीका लागि खोलिएको विशेष शिक्षा बन्द भएको छ । अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय पुग्नका लागि सहज वातावरण नै नबनेको जिल्ला अपाङ्ग सङ्घका उपाध्यक्ष लक्ष्मी विष्टले बताए ।

उनले भने, ‘अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गमैत्री संरचना नहुँदा झन समस्या छ, विशेष शिक्षामा अपाङ्गता भएका विद्यार्थीको पहुँच नै पुग्न सकेको छैन ।’ अपाङ्गता भएका विद्यार्थीका लागि सरकारले शिक्षामा पहुँच पुर्याउने नीति लिएको भए पनि सो नीतिअनुसार काम हुन नसकेको उनीहरुको गुनासो रहेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा ल्याइएको हो । -रासस