नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई अधिकृत अशोक केसीको निधन भएकोछ । केही दिनअघि मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका सरसफाई अधिकृत केसीको उपचारका क्रममा निधन भएको हो ।
बाँकेको राझाँ नजिक मोटरसाईकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागि घाईते भएका केसीको नेपालगन्ज उपमहानगरपालिकामा उपचार भइरहेको थियो । मेडिकल कलेजमा उपचाररत केसीको शुक्रबार राती मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले सरसफाइ अधिकृत अशोक केसीको निधनप्रति गहिरो दुःख ब्यक्त गरेकीछन् ।
सेतोखरीसंग कुरा गर्दै उनले भनिन्–‘सरसफाई अधिकृत केसीप्रति गहिरो दुःख ब्यक्त गर्दछु । उहाँको निधनले उपमहानगरपालिकाले ईमान्दार, लगनशील राष्ट्रसेवक कर्मचारी गुमाएको छ ।’
उपमेर थापाले भनिन्–‘उहाँको आत्माले शान्ति पाओस्, शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् ।’
नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई अधिकृतको मृत्यु भएसंगै यतिबेला सिंगो उपमहानगरपालिका शोकमा रहेकोछ । आज शनिबार भएका कारण उपमहानगरपालिकाले भोली आईतबार शोक सभा आयोजना गर्ने जनाएकोछ ।
यसैबीच, सरसफाई अधिकृत केसीको आज(शनिबार) नै बाँकेको डुडुवा गाउँपालिकाको कम्दी स्थित सिधनिया घाटमा दाहसंस्कार गरिने भएकोछ ।