कोहलपुरः नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघका केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभामा सहभागी हुन कोहलपुर आएका महासंघका केन्द्रिय सचिव उदय जिएमलाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले ज्ञापन पत्र बुझाएका हुन् ।
महासंघ बाँकेले पटक–पटक नेपाल प्रेस युनियन बाँके सम्बद्ध पत्रकारहरुलाई वाइपास गरेको, हँचुवामा कारबाही गरिएको तथा महासंघ बाँके शाखा स्वेच्छाचारी ढंगबाट अघि बढेको प्रति नेपाल प्रेस युनियन बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘विगतमा नेपाल प्रेस युनियनले महासंघको साधारण सभा बहिस्कार गरेको हो, त्यतिबेला वार्तामा भएको समझदारी हालसम्म कार्यान्वयन नभएको अवस्था छ,’ ज्ञापन पत्रमा भनिएको छ ‘साधारण सभामा त्यसबेला सहभागी हुन आउनु भएका पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल ज्युको मध्यस्थतामा भएको त्यो सहमती तत्काल कार्यान्वयन गरियोस् ।’
महासंघ बाँकेको नेतृत्व अपारदर्शी, स्वेच्छाचारी ढंगले अघि बढेको प्रति युनियनले कडा आपत्ती जनाएको छ ।
‘महासंघलाई साझा संगठनको रुपमा नभइकन एकतर्फी ढंगले चलाएकोप्रति कडा आपत्ती जनाउँदै महासंघ नेतृत्वको यस्तै रवैया जारी रहे नेपाल प्रेस युनियनका सदस्य महासंघमा बसिरहन कुनै औचित्य छैन,’ ज्ञापन पत्रमा भनिएको छ । सम्मानजनक ढंगले रहने अवस्था नहुने हो भने युनियन बाँके थप कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।