नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा आईतबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
मोटरसाईकल दुर्घटनामा परी उपचारका क्रममा निधन भएका सरसफाई अधिकृत अशोक केसीको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै श्रद्धाञ्जलीसभा गरिएको हो ।
श्रद्धाञ्जलीसभामा नगरप्रमुख डाक्टर धवलशम्शेर राणाले केसीको निधनबाट उप–महानगरपालिकाले ईमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताए ।
नगरको सरसफाईका लागि केसी रातदिन नभी खटिने गरेको स्मरण गर्दै नगरप्रमुख राणाले उनको निधनबाट सिंगो उपमहानगरपालिका दुःखित भएको बताए ।
केसीको निधनपछि यतिबेला उपमहानगरपालिका शोकमा रहेकोछ । श्रद्धाञ्जलीसभामा नगर प्रमुख राणा सहित अधिकासका आँखामा आँशु देखिन्थ्यो ।
श्रद्धाञ्जली सभामा नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायत सबै वडाका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती थियो ।
यसैबीच केसीको निधनमा शोक मनाउँदै नेपालगन्ज उपमहानगरपालिकाले आईतबार सार्वजनिक विदा दिएको छ ।
उपमहानगरपालिका र २३ वटै वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
बाँकेको राझाँ नजिक केही दिनअघि मोटरसाईकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको थियो ।
केसीको हिजो (शनिबार) नै बाँकेको डुडुवा गाउँपालिकाको कम्दी स्थित सिधनिया घाटमा दाहसंस्कार गरिएकोछ ।