राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु


राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु

काठमाडौं : पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार आज पोखरा महानगर नगरपालिका– ४ का वडाध्यक्ष शङ्करप्रसाद बास्तोलाको तथ्याङ्क सङ्कलन गरेर शुभारम्भ भएको हो । वडाध्यक्ष बास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्नसक्ने जानकारी दिए ।

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको उनले बताए ।

उनले भने,‘अनेकन परिचयपत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन, अब पाइने राष्ट्रिय परिचयपत्रमा यी सबै परिचयपत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।’ राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचयपत्रमा भएका विवरण ‘रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन शुरु गरिएको हो । पहिलो चरणमा ५ वटा वडादेखि शुरु गरिएको र आईतबारदेखि वडा नं ६ देखि दोस्रो चरण शुरु हुने जनाइएको छ । -रासस