सेवा प्रवाहको सहजताका लागि कर्मचारीलाई तालिम


सेवा प्रवाहको सहजताका लागि कर्मचारीलाई तालिम

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहजताका लागि कर्मचारीहरुलाई तालिम दिन थालिएको छ । कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोँच तथा व्यवस्थापन सम्बन्धि तालिम शुक्रबारदेखि शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले अन्य सरकारी कार्यालय र स्थानीय तहमा काम गर्ने तौरतरिका फरक भएको भन्दै तालिमपछि सेवा प्रवाहमा सहजता हुनुका साथै एकरुपता हुने अपेक्षा गरिएको बताए ।

उनले कर्मचारी समायोजनपछि तालिम आयोजना भएकाले कार्यालयमा देखिएका केही समस्या समाधानका लागि समेत कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरे । जनचाहना पुरा गर्नेतर्फ कर्मचारीहरुको ध्यान जानुपर्नेमा राणाले जोड दिए ।

यस्तै उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले जनमुखी स्थानीय प्रशासनका लागि तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गर्न आग्रह गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

जनताले अनावश्यक दुःख नपाउन भन्नेमा जनप्रतिनिधीसँगै कर्मचारीकोे पनि ध्यान जानुपर्छ थापाले भनिन्,–‘सबैपक्षबीच समन्वय र राम्रो सहकार्य बनाउन यसखालका कार्यक्रमले पक्कै पनि सहयोग पुग्ने छ ।’

नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले उपमहानगरपालिकामा वर्षौंदेखि कार्यरत र समायोजनापछि आएका कर्मचारी कार्यरत रहेको भन्दै सीप र ज्ञान आदानप्रदानबाट राम्रो सेवा प्रवाह गर्न सकिने बताए ।

जिआईजेडका बरिष्ठ अधिकृत निराजन सुवेदीले नेपालगन्ज उपमहानगरपालिकासँग पुरानो सहकार्य भएको भन्दै विकासको क्षेत्रमा नमूना बनाउन जनप्रतिनिधी र कर्मचारी सबैको महत्वपूर्ण भूमिका रहेको बताए । जिआईजेडको सहयोगमा भएको तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख राजन केसीले गरेका थिए ।