नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखा बाँकेले १३ घरधुरीलाई सहयोग गरेको छ ।
गनापुर उपशाखाले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अग्नी पीडित सात घुरधुरी र शितलहर प्रभावित ६ घरधुरी गरि १३ घरधुरीलाई सहयोग गरेको हो । रेडक्रसको उक्त सहयोगबाट १३ घरधुरीका ५५ जना लाभान्वित भएका छन् ।
गनापुर उपशाखाले शनिबार आफ्नो १६ औं उपशाखा सभामा कार्य प्रगति र आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा जानकारी दिएको हो । जसमा गनापुर उपशाखाले गरेका सामाजिक कार्यको बारेमा पनि जानकारी गराइएको थियो ।
उपशाखा आर्थिक वर्ष २०७६/०७७ मा पीडितलाई सहयोगसँगै रगत संकलन, बिरामीलाई रगत सहयोग, कोभिडविरुद्ध मास्क र सेनिटाइजर वितरण, जनचेतनामूलक कार्यक्रमको आयोजना लगायतको काम गरेको छ ।
उपशाखाले गत फागुन १६ गते विभिन्न ९ विद्यालयका ४० भन्दा बढी व्यक्तिलाई प्राथमिक उपचार एक दिवसीय अभिमुखीकरण गोष्ठीसमेत सम्पन्न गरेको उपशाखाका सचिव जगदीशप्रसाद हरिजनले जानकारी दिए ।
सचिव हरिजनका अनुसार गत आर्थिक वर्षमा उपशाखाले २० पोका रगत संकलन गर्नुका साथै बाँकेका विभिन्न अस्पतालका ११ जना बिरामीलाई रगत उपलब्ध गराएको थियो । २०६१ भदौ ९ गते स्थापना भएको गनापुर नेपालगन्ज उप–महानगरपालिकाका वडा नम्बर २० र १८ लाई समेट्दै काम गर्दै आइरहेको छ ।
नेपालगन्जको राझाँमा आयोजना भएको उपशाखा सभामा विभिन्न राजनीतिककर्मी, सामाजिककर्मी, विभिन्न विद्यालयका प्रतिनिधि र विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
गनापुर उपशाखाकी सभापति माया गुरुङको सभापतित्वमा सम्पन्न सभामा मुख्य अतिथि गनापुर उपशाखाका पूर्वसभापति एवम् रेडक्रस बाँकेको उपकोषाध्यक्ष दुखिराम लोनिया रहेका थिए ।