इन्टेग्रीटी आईकन २०२० का टप पाँच जना सार्वजनिक


इन्टेग्रीटी आईकन २०२० का टप पाँच जना सार्वजनिक

नेपालगन्ज : इन्टेग्रीटी आईकन २०२० का शीर्ष पाँच जनाको नामावली सार्वजनिक गरिएकोछ । कोभिड– १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अंझै उजागर गरिदिएको भन्दै अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० का शीर्ष पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

महामारीले निम्त्याएको चुनौतीका बावजुतपनि, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० लाई सार्वजनिक गरेको छ ।

इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । ७ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयनबाट निर्णयक समितिले छनोट गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेका थिए ।

इन्टेग्रीटी आइकन २०२० का लागि छनोट भएका टप पाँच व्यक्तित्वको संक्षिप्त विवरण यस प्रकार रहेको छः

आरती थारु, जनस्वास्थ्य निरीक्षक, नेपालगन्ज स्वास्थ्य चौकी

प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदा उनले सुत्केरी महिलाका लागि गरेको काम उल्लेखनिय छ ।

उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरिन् । हाल नेपालगन्जमा रहँदा कोभिड – १९ महामारीको समयमा उनले क्वारेन्टिनमा काम गर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेकाछन् ।

दिपक ज्ञवाली, महाशाखा प्रमुख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवल 

ज्ञवालीले वनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित वन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेका छन् । टिम वर्कमा विश्वास गर्ने र जिम्मेवारी बाँडफाड गरेर काम गर्ने भएकोले उनी कार्यरत कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्दै आईरहेका छन् ।

हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा

हेमले कृषकलाई दिगो व्यवसायिक खेती गर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमा ल्याए । त्यसबाट कृषकले खेती गर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आयआर्जन गर्नसके ।

त्यसै गरेर, कृषकको समस्या बुझेर समाधान गर्न निमित अगुवा कृषक गोष्ठिको आयोजना गरे । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उल्लेख्य काम गरे ।

मञ्जु महत, अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम :

महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठुलो योगदान गरेकिछिन् ।

यदि कुनै महिलाले घरेलु हिँसाको सामना गरिन भने सबैले पहिलो पटक सम्झिने नाम हो मञ्जु महत । पहिला वस्तु स्थीती बुझ्ने, व्यवहारिक कार्य योजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उनको कार्यशैली हो ।

डाक्टर नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्च माध्यामिक विद्यालय, धादिङ 

पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गरेकाछन् ।

यी आईकन र उनीहरूले गरेका कामलाई अकाउन्टविलिटी ल्याब नेपालले आफ्नो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा आउँदो एक हप्ता भरी प्रस्तुत गर्नेछ । उनीहरूलाई प्रोत्साहित गर्न अकाउन्टविलिटीले सहभागिताको लागि आग्रह गरेकोछ । आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गर्ने अकाउन्टविलिटीले ल्याव नेपालले जनाएकोछ ।