पानी कति र कसरी पिउने ? यस्ता छन् फाइदा

विश्व पानी दिवस


पानी कति र कसरी पिउने ?  यस्ता छन् फाइदा

डा. हेमराज कोइराला

पानी जीवनको आधार हो। धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्वीकारेका छन्। पृथ्वी र हाम्रो शरीरमा पानीकै बाहुल्यता छ। तर पनि यसको महत्वलाई बुझ्न नसक्दा मानिसले विभिन्न समस्या भोगिरहेका छन्।

पानीको महत्वलाई सबैसामु छर्लंग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण, सम्वद्र्धन र दिगो विकासका लागि वकालत गर्ने अभिप्रायले १९९३ देखि संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मार्च २२ तारिखका दिन पानी दिवस मनाइँदै आइएको छ।

पानी सहकारिताको अन्तर्राष्ट्रिय वर्षको उपनामले सम्बोधन गरेर सधैंझैं यस वर्ष पनि विश्व पानी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्नु हामी सबैको दयित्व हो। 

मानव शरीर रचनामा सर्वाधिक (६०–७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो।

Kanti Aarogya Hospital Nepalgunj

हाड जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेसीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ।

पानीलाई जीवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ। विभिन्न जैव रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा आफंै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने, गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पु¥याउने काम पनि पानीले नै गर्छ।

एउटा वयस्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ। शारीरिक पानीको दुई तिहाइ हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाइ हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ।

शरीरमा पानीको सन्तुलन बनाइराख्नका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानी आवश्यक पर्दछ। जसमध्ये ७ सय मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३ सय मिलि पानी शरीरभित्रै उत्पन्न हुन्छ। बाँकी पानीको पूर्ति पानी पिएर नै गर्नुपर्छ।

यसैगरी हरेक दिन ४ सय ५० मिलि पानी छालाबाट उडेर, ४ सय मिलि पानी श्वाससँगै घुलेर, १ सय ५० मिलि पानी दिसासँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ। 

पानी पिउनुका फाइदा
१. शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्‍याउँछ। 

२. उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्याल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाइट (नुन) हरु र अन्य उत्पादलाई निष्काशन गरी रक्त शुद्धीकरणमा सहयोग पुर्‍याउँछ। 

३. छालाको सौन्दर्यलाई जिवन्त राख्छ। मांसपेसी तथा स्नायु कोषहरुको कार्यक्षमतालाई सूचारु राख्न मद्दत गर्छ। कोषहरुमा हुने अक्सिडेटिभ स्टे«स निवारण गर्न सहयोग गर्छ। 

४.पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठूलो भूमिका छ। पाचनपश्चात् आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागि पनि पानीको आवश्यकता पर्छ। 

५. तिख्रा लाग्नुभन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने, कमल पित्त, मिर्गौला तथा पित्तथैलीको पथ्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिद्रा एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डन्डिफोर, महिनावारी गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बढ्ने–घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ। यी रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग पुग्छ।

कति पिउने?
पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसममा निर्भर गर्छ। सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखि ४ लिटर पिउनु जरुरी छ। अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउनु जरुरी छ।  

सामान्यतयाः पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले धेरै पानी पिउनु जरुरी छ। सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउनु आवश्यक छ। 

कसरी पिउने?
– तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो। त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौं। एकै पटक धेरै पानी पिउनु पनि स्वास्थ्यको लागि राम्रो होइन। 

– बिहान उठ्नेबित्तिकै लगभग १२ सय मिलि जति पानी पिउनु स्वास्थ्यकर छ। यसो गर्दा रातभरि सुत्दा हुनसक्ने डिहाइड्रेसन (निर्जलता) कम गर्न सहयोग गर्छ। 

– ठोस भोजन गर्नुभन्दा १ घन्टा पहिले र गरेपछि २ घन्टा पछिसम्म पानी पिउन हँुदैन। भोजन निल्न कठिन भएमा १० मिलिजति पानी लिन सकिन्छ, तर भोजन लिइसकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठिन हुन्छ। फलतः विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन्। 

– राति सुत्नुभन्दा अगाडि पनि प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्छ। यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन। 

– यसका अलवा दैनिक १–१ घन्टाको अन्तरालमा १ देखि २ ग्लास पानी पिइरहनुपर्छ। 

– खेल्दा, दौडदा र परिश्रम गर्नुभन्दा आधा घन्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरिरहेको समयमा वा श्रमपश्चात् लगत्तै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइट (नुन) हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनि आउन सक्छ। साथै श्रमको समयमा पानी पिउँदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दबाब पर्न जान्छ। 

– तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्स तथा अन्य पेय होइन। 

– पिसाबलाई पहेंलो हुन नदिउँ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो।