कृषि सामग्री कम्पनीबाट रासायनिक मल लैजाँदै किसान ।
नेपालगन्ज १३ पुष : बाँकेमा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान भारतीय रासायनिक मलमा निर्भर हुनुपरेकोछ । नेपालगन्ज स्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको माग बढ्दै गएपनि माग बमोजिमको आपूर्ति हुन सकेको छैन । जसका कारण समयमै मल नपाउँदा बाँकेका किसान भारतीय मलमा आश्रित हुर्दै गएकाछन् ।
जिल्लामा रासायनिक मलको माग बढ्दै गएपनि समयमै माग बमोजिमको रासायनिक मल बिक्री वितरण हुन नसकेपछि विकल्पका रुपमा बाँकेका किसानले भारतीय मलमा निर्भर हुदैँ आएकाछन् । बाँकेका किसानले मलको जोहो गर्न बैकल्पिक बाटो अपनाउन लागेको यो पहिलो घटना होइन । उनीहरुले पछिल्लो ५–७ वर्षदेखि खेतीकिसानीका लागि भारतीय मल ल्याउने गरेकाछन् ।
यसरी भारतबाट रसायनिक मल ल्याउँदा थुप्रै किसान सुरक्षाकर्मीको फन्दामा पर्ने र अनाहकमा दुःख पाउने गरेकाछन् । खेतका लागि ल्याउँदै गरेको मल सुरक्षाकर्मीले पक्रिँदा मल जफत गर्ने र कारबाहीमा समेत पर्ने हुँदा उनीहरुलाई थप आर्थिक भार समेत पर्दै आएकोछ ।
खुला सीमानाका भएका कारण बाँकेको नरैनापुर क्षेत्र, डुडुवा गाउँपालिकाको होलिया, खडैचा र हिरमनिया क्षेत्र, नेपालगन्जको पिप्रहवा, जयसपुर, साईगाउँ, सिवपुरी लगायत क्षेत्रबाट भारतीय मल ल्याइने गरिन्छ । भारतबाटै ल्याएको मलले खेतीकिसानी गरिरहेका बाँकेका किसानको यो समस्या समाधान गर्नेतर्फ कृषि सामाग्री कम्पनी उदासिन बन्दै आएकोछ ।
कृषि सामाग्री कम्पनीका शाखा प्रबन्धक रमेश पौडेलका अनुसार बाँकेमा वार्षिक तीन हजार मेट्रिक टन डिएपी, सात हजार मेट्रिक टन यूरिया र दुई सय मेट्रिक टन पोटास आवश्यक पर्छ । तर, वर्षेनी ५३२ मेट्रिक टन डिएपी, दुई हजार ९ मेट्रिक टन यूरिया तथा ३७ मेट्रिक टन पोटास विक्री हुदैँ आएको कम्पनीका शाखा प्रवन्धक पौडेलले बताउँछन् ।
उनले वर्षेनी ७५ प्रतिशत नेपाली र २५ प्रतिशत भारतीय रासायनिक मल प्रयोग हुने गरेको बताए । खुला सीमा नाकाका कारण भारतबाट सहज रुपमा रासायनिक मल भित्रिने गरेको बताउँदै उनले भने –‘रासायनिक मल पर्याप्त त छैन, तर भारतीय रासायनिक मल किसानले भित्राइरहेका छन् ।’
कम्पनीले स्थानीय तहलाई गते र बार मिलाएर रासायनिक मल वितरण गर्दै आएको बताउँदै पौडेलले भने–‘अहिलेसम्म रासायनिक मलका कारण खेती गर्न पाएनौँ भन्ने गुनासो आएको छैन ।’
कम्पनीले मल अभाव नभएको दावि गरिरहँदा भारतबाट वार्षिक पाँच सय मेट्रिक टन रासायनिक मल भित्रिने गरेको अनुमान छ । मुख्य नाका(जमुनाह)बाट कम मात्रामा भित्रिए पनि बाँकेको पूर्वी छोटी भन्सार(साना नाका) नरैनापुर, बेतहनी, होलिया, हिरमिनिया, साईगाउँ लगायत नाकाबाट किसानले रासायनिक मल भित्र्याउने गरेकाछन् ।
किसानले खेतीका लागि यसरी ल्याउने मलमा कडाई गरिन्छ तर, भनेको बेला मागबमोजिम नेपालमा मल नपाएका किसान सधैं सिधै भारतीय बजारबाट किन्ने गर्छन् । नेपालमै सहजरुपमा मल पाउन नसकेपछि बाँकेका किसानले सहजै भारतीय मल ल्याउने गरेकाछन् । नेपाली रासायनिक मलका लागि धेरै दिन धाउनुपर्ने र लाइनमा बस्नुपर्ने झन्झट एकातिर कुपनसहित पालो पाइहालेपनि भनेजतिको मल नपाउनु र मल कुर्दाकुर्दै खेती गर्ने समय जाने अर्को पीडा किसानले भोग्दै आएकाछन् ।
थप समाचार