तीन पदका लागि ६ जनाबीच प्रतिस्पर्धा
नेपालगन्ज ११ माघ : कोरोना महामारीकाबीच राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पुरा भएकोछ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गनमा भोली बुधबार बिहान ९ बजे बाट मतदान शुरु हुनेछ । जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्दै मतदानको व्यवस्था मिलाइएको छ ।
आयोगले उक्त प्रदेशमा तीन सदस्य पदका लागि निर्वाचन गराउँदैछ । मतदान दिउँसो ३ बजेसम्म चल्ने र त्यसलगत्तै मतगणना शुरु हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कवरले जानकारी दिए ।
फागुन २० गतेदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण माघ १२ गते सबै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा तीन पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैँछ । लुम्बिनी प्रदेशमा नेकपा एमाले र सत्ता गठबन्धनको तर्फबाट ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेबाट दलित तर्फ गुल्मीका कृष्ण सुनार, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनाल र अन्यका लागी दाङका रामदयाल गुप्ता चुनावी मैदानमा छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका तर्फबाट बाँके निवासी काँग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा चुनावी मैदानमा छन् ।
लुम्बिनी प्रदेशमा २९६ जम्मा मतदाता छन्, जसमध्य ८१ जना प्रदेशसभा सदस्य र २१५ जना स्थानीय तहका प्रमुख/उप–प्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता छन् । ८१ जना प्रदेशसभा मध्य नेकपा एमालेका ३७ जना र गठबन्धनका ४४ प्रदेशसभा सदस्य छन् । जसमा माओवादी १९, काँग्रेस १९, जसपा ४, एकीकृत समाजवादी एक, राष्ट्रिय जनमोर्चा एक छन् ।
यस्तै सत्ता गठबन्धनका उम्मेदवार निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । किनभने निर्वाचित जनप्रतिनिधिले नै मतदान गर्ने भएको र लुम्बिनीमा गठबन्धन धेरै बलियो भएकाले गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चित जस्तै छ । केही समयअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि यहाँबाट अहिलेको गठबन्धनका उम्मेदवार विजय भएका थिए । तर, एमालेका उम्मेदवार पनि आफुहरुको विजय निश्चित भएको दाबी गरिरहेकाछन् ।
स्थानीय तह अन्तर्गत २१५ मध्य नेकपा एमालेका प्रमुख÷उपप्रमुख ८८ छन् । पालिका प्रमुख उपप्रमुख अन्तर्गत नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ३६, जनता समाजवादीका पार्टीका १३, राष्ट्रिय जनमोर्चाका ५, नेकपा नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र ४ मतदाता छन् ।
प्रदेशसभाको ४८ अंकभार हो भने स्थानीय तहको अंकभार १८ छ । प्रदेशसभाको कुल ३ हजार ८ सय ८८ अंकभार हुन आउँछ भने र पालिका तर्फ कुल ३ हजार ८ सय ७० अंकभार हुन आउने जनाइएको छ ।
थप समाचार
राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीबाट बाँकेका युवराज शर्मा चयन