सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो


सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो

नेपालगन्ज २० चैत्र : सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भाडा १० प्रतिशतले बढाएको छ ।

विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ । यस्तै यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् । भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छिन् ।

Kids Festival 2022
kanti aarogya hospital

अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने भएकाले सकारात्मक निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । अब प्रदेशले पनि यसैअनुसार भाडा समायोजन गर्नुपर्ने उनले बताए ।