डोल्पा। हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन्। डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र दुई बच्चासहित तीनवटा हिउँ चितुवा एकैसाथ देखिएका हुन्।
वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा करिब ४० मिटरको दूरीबाट तीन वटा हिउँ चितुवा देखेको बताए।
साँझ ५ बजेर ५३ मिनेटमा बाटोमा हिँडिरहेका बेला अचानक हिउँ चितुवा देखेपछि नेपालीले तत्कालै मोबाइलबाट फोटो तथा भिडियो खिचेका थिए। उनका लागि हिउँ चितुवा देखेको यो पहिलो अनुभव भएको पनि सुनाए।
दुर्लभ वन्यजन्तुलाई एकैपटक तीन वटा देखेपछि खिचेको भिडियो उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए। अहिले उक्त भिडियो सामाजिक सञ्जालमा चर्चित बनेको छ। भिडियो १२ लाखभन्दा बढी पटक हेरिएको छ भने २८ हजारभन्दा बढीले लाइक गरेका छन्।
शे–फोक्सुण्डोमा ९० हिउँ चितुवाहरु
नेपालमा हिउँ चितुवाको महत्वपूर्ण वासस्थानहरुमध्ये शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पनि एक हो। ‘हिउँ चितुवा पत्रिका–२०८१’ मा प्रकाशित समाचार अनुशार, क्यामेरा ट्र्याप अनुगमन तथा अध्ययन्को तथ्यांकबाट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब ९० वटा हिउँ चितुवाहरु रहेको उल्लेख छ।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा दुर्लभ वन्यजन्तु हो। यसको संरक्षणका लागि नेपालका विभिन्न हिमाली क्षेत्रहरुमा अध्ययन्, अनुगमन तथा संरक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
आहाराको खोजीमा बस्ती र गोठसम्म
पछिल्लो समय आहाराको खोजीमा हिउँ चितुवाहरु मानव बस्ती नजिक पुग्ने तथा गोठमा समेत प्रवेश गर्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन्। यसले हिमाली क्षेत्रमा पशुपालक किसानहरुका लागि मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढाएको छ।
मनाङको नारफु तथा मुस्ताङको समर क्षेत्रमा पछिल्ला केही वर्षमा हिउँ चितुवा गोठमा प्रवेश गरेका घटना अभिलेखमा रहेको बताइएको छ।
हिउँ चितुवाको प्राकृतिक बासस्थानमा आएको परिवर्तन, आहाराको उपलब्धता तथा मानव गतिविधिको विस्तारसँगै यस्ता घटना संरक्षणका दृष्टिले चुनौतीपूर्ण बन्दै गएका छन्।
धो तारापमा एकैपटक एक माउ र दुई बच्चासहित तीन वटा हिउँ चितुवा देखिनुले डोल्पाको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको उपस्थिति र जैविक विविधताबारे थप अध्ययन तथा संरक्षणको आवश्यकता औंल्याएको छ।
दुर्लभ वन्यजन्तुको यस्तो दृश्यले एकातर्फ डोल्पाको जैविक विविधताको महत्त्व उजागर गरेको छ भने अर्कोतर्फ हिउँ चितुवा र स्थानीय समुदायबीचको सहअस्तित्व तथा संरक्षणका लागि थप संवेदनशील हुनुपर्ने सन्देश दिएको छ।
माछा मार्न गएकी पुस्पालाई गोहीले खायो, घर फर्किन लागेको मंगललाई चितुवाले लुछ्यो
बाँके, कैलाली र दाङलगायत देशभरि लागुऔसहित ३१ जना समातिए
भारतका चर्चित युट्यूबर ध्रुब राठी पक्राउ
लुम्बिनी र गण्डकीमा ‘सूचना महामार्ग’ बन्ने, २ अर्ब १ करोड रुपैयाँको सम्झौता
थारु समुदायमा दसैं: कात्तिक १ गते ‘ढिक्री पूजा’
सुर्खेतका जंगलमा भेटिए १८ नाल भरुवा बन्दुक