महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं 


सेतोखरी सेतोखरी   २० मिनेट अगाडि
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं 

काठमाडौं। १५ औं महाधिवेशनका लागि नेपाली काँग्रेसले आजदेखि प्रारम्भिक चरण सुरु गरेको छ। आजदेखि वडाहरूको अधिवेशन सुरु भएको नेपाली काँग्रेसले जनाएको छ। असोज ३ र ४ गते वडाहरूको अधिवेशन हुनेछन्। काँग्रेसले आजदेखि सुरु भएको वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ। 

त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे आवश्यक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका तयारी पूरा गरिसकेको समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका सम्बन्धमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै निर्धारित मिति असोज ३ र ४ गते हुने निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई अनुरोध गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। आजदेखि वडाको अधिवेशन र असोज १० गतेसम्म क्षेत्रीय अधिवेशनहरू हुनेछन्। जिल्ला अधिवेशन भने अझै तोकिएको छैन। 

काँग्रेसका केन्द्रीय निर्वाचन समितिका अनुसार देशैभरिका जिल्लाहरूमा महाधिवेशनका चरण सुरु भएका छन्। केही जिल्लामा भने केन्द्रको निर्देशनअनुसार अधिवेशन सुरु गर्न नमान्ने जिल्ला सभापतिहरूको जिम्मेवारी खोसेर कार्यबाहक तोकिएका छन्। 

कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई दिइएको छ। त्यसैगरी, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई सुम्पिइएको छ।

गत पुस अन्तिममा विशेष महाधिवेशनमार्फत गगन थापा सभापति चुनिएपछि नेपाली काँग्रेसमा विवाद चुलिएको छ। पूर्वसभापति शेरबहादुर लगायत केही नेताहरू उनको समूहले भने आगामी असोज २३ देखि समानान्तर महाधिवेशन घोषणा गरेका छन्। तर त्यो समूहका अधिकांश नेताहरू भने संस्थापनतिर आइसकेका छन्।