काठमाडौं। संस्कृतिविद् डा.गोविन्द टण्डनले हरितालिका तीजलाई केवल धार्मिक पर्वका रूपमा सीमित नगरी नेपाली महिलाको पीडा, प्रतिरोध र सामाजिक अभिव्यक्तिको ऐतिहासिक माध्यमका रूपमा बुझ्नुपर्ने बताएका छन्। पछिल्ला वर्षहरूमा तीजको मौलिक स्वरूप बजारमुखी र भड्किलो बन्दै गएको भन्दै उनले यसको सांस्कृतिक मर्म जोगाउन सचेत प्रयास आवश्यक रहेको बताएका हुन्।
तीजका गीतहरू विगतमा महिलाले समाजले आफूहरूमाथि गरेका विभेद, बेवास्ता र शोषणका अनुभव खुला रूपमा व्यक्त गर्ने माध्यम रहेको स्मरण उनकाे छ।
‘एक समय तीजका गीत सुनेर समाजमा महिलाको वास्तविक अवस्था बुझ्न सकिन्थ्यो,‘ उनले भने, ‘अहिले त्यो आत्मीयता र स्वतःस्फूर्त अभिव्यक्ति क्रमशः कम हुँदै गएको छ।’
उनका अनुसार अहिले तीजका गीतहरू धेरैजसो रेकर्ड गरिएको संगीत र बजारको प्रतिस्पर्धामा सीमित हुन थालेका छन्। पहिले गाउँघरमा महिलाहरू भेला भएर तत्कालै दोहोरी गाउने, व्यङ्ग्य गर्ने, प्रश्नोत्तर गर्ने र आशुकवितामार्फत आफ्नो भावना व्यक्त गर्ने परम्परा विस्तारै हराउँदै गएको उनको भनाइ छ।
टण्डनले विशेष गरी पशुपति क्षेत्रको पुरानो तीज संस्कृति अहिले निकै फेरिएको बताए। उनका अनुसार विगतमा बनकाली र मृगस्थलीका जंगल तीजका दोहोरी गीतले गुञ्जिन्थे। ती स्थानमा गीत सुन्न हजारौं मानिस भेला हुने गर्थे। ‘त्यतिबेला तत्काल प्रत्युत्तर दिने, लय मिलाउने र व्यङ्ग्य मिसाएर गाउने सीप भएको पुस्ता थियो,‘ उनले भने,‘अहिले मोबाइलमै गीत हेर्ने चलन बढेकाले त्यस्तो प्रत्यक्ष सांस्कृतिक अभ्यास घट्दै गएको छ।’
उनका अनुसार आशुकविताको त्यो परम्परा कमजोर बन्दै जानु नयाँ पुस्ताको सांस्कृतिक आकर्षण परिवर्तनको संकेत पनि हो। टण्डनले तीज अहिले कुनै एक जाति वा समुदायमा सीमित नरहेको बताए। विश्वभर नेपाली बसोबास गर्ने ठाउँमा तीज मनाइने भएकाले यसले नेपाली पहिचानको साझा पर्वको रूप लिइसकेको उनको भनाइ छ।
उनले विशेषगरी नेवार समुदायको उदाहरण दिँदै विगतमा धार्मिक कारणले तीज मनाउने चलन सीमित भएपनि अहिले नयाँ पुस्ताले यसलाई उत्सवका रूपमा अपनाउन थालेको बताए। ‘रातो पहिरन, चुरा, पोते, नाचगान र सामूहिक उत्सवको आकर्षणले सबै समुदायमा यसको विस्तार भएको छ,‘ उनले भने।
विदेशमा त झन् जातीय सीमाभन्दा माथि उठेर नेपालीपनको प्रतीकका रूपमा तीज मनाउने चलन बलियो भएको उनको धारणा छ। टण्डनका अनुसार सामाजिक सञ्जालले तीज मनाउने शैलीमा ठूलो परिवर्तन ल्याएको छ। पहिले सामूहिक जमघटनै मुख्य माध्यम भए पनि अहिले फेसबुक, इन्स्टाग्राम र अन्य डिजिटल प्लेटफर्ममार्फत पनि मानिसहरूले आफ्नो सहभागिता देखाउने गरेका छन्। यद्यपि उनले यसले परम्परागत सामूहिक सांस्कृतिक अभ्यासलाई केही हदसम्म कमजोर बनाएको संकेत गरे।
तीजमा भड्किलोपन बढ्न दिनुहुँदैन
टण्डनले तीजमा बढ्दो खर्चिलोपन र प्रदर्शनमुखी प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार संस्कृति सबैको पहुँचभित्र रहने गरी संरक्षण गर्नुपर्छ, प्रतिस्पर्धात्मक प्रदर्शनको माध्यम बनाउनु हुँदैन।
‘सबैले गर्न नसक्ने भड्किलोपन बढे अर्को समुदाय वा आर्थिक रूपमा कमजोर मानिसमा हीनताबोध र वितृष्णा उत्पन्न हुनसक्छ,‘उनले भने। उनले केही वर्षअघि तीज आउनुभन्दा महिनौँअघि पार्टी प्यालेसमा हुने दर कार्यक्रमको अत्यधिक व्यावसायीकरण बढेको स्मरण गर्दै त्यसबारे सञ्चार माध्यम, संस्कृतिविद् र राज्यले सचेत गराएपछि केही सुधार देखिएको बताए। तर यस्तो प्रवृत्ति फेरि बढ्न नदिन निरन्तर ध्यान दिनुपर्ने उनको भनाइ छ।
संस्कृति नै नेपालको पहिचान
डा. टण्डनले तीज नेपालको सांस्कृतिक पहिचान विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम भएको बताए। पशुपतिनाथ क्षेत्रमा तीजका अवसरमा रातो पहिरनमा सजिएका महिलाको दृश्य खिच्न विदेशी फोटोग्राफर, लेखक र वृत्तचित्र निर्माता आउने गरेको उल्लेख गर्दै उनले त्यसले नेपालको सांस्कृतिक आकर्षण बढाएको बताए।
‘तीज केवल पूजा होइन, यो नेपालको जीवनशैली, रंग, सौन्दर्य र सामाजिक सम्बन्धको प्रतिबिम्ब पनि हो,‘ उनले भने। उनका अनुसार संस्कृतिको संरक्षण भनेको त्यसको मौलिकता जोगाउनु हो। त्यसका लागि विकृति हटाउँदै परम्परालाई समयअनुकूल ढंगले अगाडि बढाउनुपर्ने उनले जोड दिए। ‘आफ्नो क्षमता र गच्छेअनुसार, भड्किलोपनबाट टाढा रहेर संस्कृतिलाई संरक्षण गर्ने भावनाका साथ तीज मनाउन सकियो भने त्यसले नेपाली समाज र नेपालको पहिचान दुवैलाई बलियो बनाउनेछ,‘ टण्डनले भने।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?